मधेस आन्दोलनका शहीदहरुको सालिक चोरी, मदिरा सेवन गर्नेहरु माथि शंका
रासस,
प्रकाशित २०७७ माघ २२ बिहिबार
178
Shares
महोत्तरी। जिल्लाको जलेश्वर–जनकपुर सडक खण्डको परिकौली चौकमा स्थापना गरिएको मधेस आन्दोलनका दुई शहीदको सालिक गए राति चोरी भएको छ ।
मधेस आन्दोलन २०७२-७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको सालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
वडा नं ११ र वडा नं ९ को साझा चोकको रूपमा रहेको परिकौली चौकमा ५-७ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको प्रतिमा (सालिक) आज बिहान सो स्थानमा नरहेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताउनुभयो । वडाध्यक्ष यादवले गए राति ११-१२ बजेसम्म सालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरूले सालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट आज बिहानैदेखि प्रहरी टोली परिचालन गरी सालिकको व्यापक रूपमा खोजतलास भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।