अर्थमन्त्री पौडेलद्वारा बिमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन
प्रकाशित २०७७ माघ २४ शनिबार
208
Shares
काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुङ्गा साबित गर्न बिमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन्। बिमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्याहरू केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए।
अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बिमा क्षेत्रले विश्वसनीयता कायम गर्नु पर्ने आवश्यकता औँल्याउँदै बिमा क्षेत्रलाई सबल, सक्षम र प्रतिस्पर्धी बनाउनु पर्ने बताए।
राजस्व सचिव रामशरण पुडासैनीले बिमाको पहुँच बढाउन र बिमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए। बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्रको सुधारका लागि खरो रूपमा उत्रने र फास्ट ट्र्याकमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बिमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
सो अवसरमा अर्थमन्त्री पौडेल र सचिवद्वयले नवनियुक्त अध्यक्ष सिलवालालाई बधाई तथा शुभकामना दिएका थिए।