जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबरजस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा–४ बस्ने ४७ वर्षीय पुरन राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
पक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र नौ वर्षीया गरी दुई बालिकालाई शनिवार साँझ साढे ५ बजेतिर गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारी (दालबाली) को खेतमा जबरजस्ती करणी उद्योग गरेको आरोप लगाइएको छ ।
बालिकाहरू त्यहाँबाट भागी घर आएर आ–आफ्ना आमालाई रुँदै कराउँदै सबै कुरा बताएपछि दुवैका आमाले आरोपितको घरमा गएर गाली बेइज्जती गर्दा कोही घरबाट ननिस्केको र पछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरी घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपित पुरनलाई गए राति १० बजे पक्राउ गरी ल्याएको थियो ।