निर्वाचन आयोगमा प्रधानमन्त्री: ‘सरकार 'व्याक' हुन्न, तयारी गर्नुस्’
आयोगले भन्यो: सरकारले वातावरण बनाउनु पर्छ
प्रकाशित २०७७ माघ २७ मंगलबार
66
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित निर्वाचनबाट सरकार व्याक नहुने भन्दै निर्वाचनको तयारी अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । मंगलबार (आज) कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेका प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा अघि बढ्न आयोगलाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले आयोग पुगेर पहिले निर्वाचनको तयारीबारे जानकारी लिएको र त्यसपछि थप तयारी अघि बढाउन भनेको जानकारी दिएका हुन् ।
‘प्रधानमन्त्रीले आयोगले निर्वाचनका सन्दर्भमा गरिरहेको काम र तयारीबारे जानकारी लिनु भयो, त्यसपछि थप तयारीलाई अघि बढाउनुस् भन्नु भयो,’ प्रधानमन्त्रीले आयोगसँगको गरेको छलफलबारे जानकारी दिंदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने ।
आयोगका एक पदाधिकारीका अनुसार प्रधानमन्त्रीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरूले जानकारी गराएका थिए । सो क्रममा आयोगका प्रमुख आयुक्त थपलियाले भने प्रधानमन्त्री समक्ष आगामी निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने गरी वातावरण बनाउन आग्रह गरेका थिए ।
यसैगरी अन्तर्राष्ट्रिय मान्यता अनुसार निर्वाचनको पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउने तयारी भइरहेको भन्दै प्रमुख आयुक्त थपलियाले त्यसका लागि आवश्यक कार्य अघि बढाउने तयारीबारेमा समेत प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।
यसैगरी आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा, बजेट तथा अन्य आवश्यक सामग्री लगायतका विषयमा पनि जानकारी गराइएको थियो । आयोगको तयारीबारे जानकारी पाएपछि प्रधानमन्त्रीले धन्यवाद दिँदै निर्वाचन प्रक्रियालाई अघि बढाउन आग्रह गरेका थिए ।
१७ र २७ वैशाखका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ६३ लाख ४५ हजार मतदाताको नाम संकलन भएको समेत प्रधानमन्त्री ओलीलाई आयोगले जानकारी दिएको छ । आयोगले २१ फागुनमा अन्तिम मतादाता नामावली सार्वजनिक गर्ने जानकारीसमेत आयोगले प्रधानमन्त्रीलाई गराएको छ ।
आयोगले हाल स्थानीय तहबाट मतदान केन्द्र पुनरावलोकनको काम सकेर जिल्ला तहबाट मतदान केन्द्र निर्धारणको गृहकार्य भइरहेको र निर्वाचन प्रयोजनका लागि दल दर्ता तथा आचारसंहिताको मस्यौदा तयार भइरहेको समेत जानकारी गराएको छ ।
यसअघि प्रचण्ड-माधव पक्षले भने नेकपा विवाद समाधान नगरी निर्वाचन हुनै नसक्ने भन्दै आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन भन्दै आइरहेका थिए ।
आयोगले भने नेकपाका दुवै पक्षबाट आएका विवरण अद्यावधिक गरिदिने बारेको पत्रबारे ११ माघमा लिएको निर्णय र प्रचण्ड-नेपाल पक्षबाट २० माघमा प्राप्त भएको पत्रबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।
प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, कानूनमन्त्री लिलानाथ श्रेष्ठ आयोग पुगेका थिए ।