पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याउने तयारी
सरकारको पाँच प्रतिशत लगानी गर्ने निर्णय
प्रकाशित २०७७ माघ २९ बिहिबार
431
Shares
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। त्यसका लागि गैरआवासीय नेपाली सङ्घले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ। अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकम सहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया रहेको बताउँदै छिट्टै दर्ता भई काम सुरु हुने बताए। पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली सङ्घको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरूको सेयर हुनेछ। गैरआवासीय नेपालीहरूले लगानीका लागि आइपिओ जारी गरिनेछ।
अध्यक्ष पन्तले लगानीका क्षेत्रहरूबारे पनि प्रस्तावहरू आइसकेको जानकारी दिए। उनले विदेशमा रहेका नेपालीहरू नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायत सहभागी थिए।