पूर्व भिआइपीका सुरक्षाकर्मी तान्दै सरकार, पूर्नविचार गर्न पूर्वराजाका स्वकीय सचिवको पत्र
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ३० शुक्रबार
175
Shares
काठमाडौँ। सरकारले पूर्व भिआइपीले राख्दै आएका सुरक्षाकर्मी फिर्ता गर्न नयाँ कार्यविधि बनाएपछि पूर्व राजा, पूर्व प्रधानमन्त्री लगायतले कार्यविधि विपरीत राख्दै आएका सुरक्षाकर्मी फिर्ता ल्याउन सुरु गरिएको छ। पूर्व विशिष्टको सुरक्षाका लागि गृह मन्त्रालयले नयाँ मापदण्ड बनाएर कार्यविधि विपरीत सुरक्षाका बहानामा बढी सुरक्षाकर्मी राखिएको पाइएपछि सरकारले त्यसरी राखिएका सुरक्षाकर्मीलाई फिर्ता ल्याउन कदम चालेको हो।
मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो। स्वीकृत नयाँ कार्यविधि अनुसार पूर्व राष्ट्रपतिले अब २१, पूर्व प्रधानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।
फिर्ता ल्याउन निर्देशन
गृहमन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेले सरकारले नयाँ कार्यविधि स्वीकृत गरेसँगै सो विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन गरिएको जानकारी दिए। ‘सरकारले नयाँ कार्यविधि स्वीकृत गरेसँगै सो विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन भइसकेको छ, फिर्ता गर्ने क्रमसमेत सुरु भएको छ,’ उनले भने।
नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फबाट गरी पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा हाल पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। ती विभिन्न तहका पूर्व विशिष्ट व्यक्तिहरूले आफ्नो, आफ्ना श्रीमती र परिवारको निजी काममा समेत सुरक्षाकर्मीहरूको दुरुपयोग गर्दै आइरहेका छन्। यस्तै करिब दुई सयको हाराहारीमा प्रहरी र सशस्त्र प्रहरीतर्फका सुरक्षाकर्मी फिर्ता भइसकेका छन्।
पूर्व राजपरिवारको सुरक्षामा ९९ जना
हाल पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९९ जना सुरक्षाकर्मी खटाइदैं आइएको छ। जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी हाल सुरक्षाका लागि खटिँदै आइरहेका छन्। नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार भने पूर्वराजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।
पुनर्विचार गरिदिन पत्र
पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागरप्रसाद तिम्सिनाले तोकिएको नयाँ कार्यविधि अनुसार सबै राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि पर्याप्त नहुने हुँदा सुरक्षाकर्मीको सङ्ख्याको लागि पुनर्विचार गरिदिन भन्दै बिहीबार गृह मन्त्रालयमा पत्र पठाएका हुन्।