निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल समूहको प्रश्नः 'विवाद नसुल्झाइ कसरी निर्वाचन हुन्छ ?'
प्रकाशित २०७७ फागुन २ आइतबार
175
Shares
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता विवाद समाधान नगरी ‘कसरी कहाँ गएर निर्वाचन गर्ने’ भन्दै निर्वाचन आयोगसँग प्रश्न गरेको छ ।
निर्वाचन आचारसंहिताको विषयमा छलफल गर्न निर्वाचन आयोगले आइतबार सबै दलका प्रतिनिधिलाई आयोग बोलाएको थियो ।
छलफलका लागि आयोग पुगेका नेकपाको प्रचण्ड-नेपाल समूहका नेताहरुले भने नेकपाको आधिकारिकता विवादको निरुपण नगरी निर्वाचन नै हुन नसक्ने भनेका हुन् ।
‘आचारसंहिताको विषयमा छलफल गर्न आयोगले बोलायो, हामीले आयोगलाई नेकपा विवाद निरुपण नगरी कसरी कहाँ गएर निर्वाचन गर्नु हुन्छ भनेर सोधेका छौं, छलफल हुँदैछ,’ आयोग पुगेका नेकपा नेता लिलामणी पोखरेलले हाम्राकुरासँग भने ।
छलफलका क्रममा उनीहरुले ‘आफ्नो समूहले दिएको मागदाबीको विषयमा आयोगले के गरिरहेको छ रु’ भनी जिज्ञासा राखेका छन् । सो विषयमा आयोगले अध्ययन गरिरहेको जवाफ दिएको छ ।
प्रचण्ड-नेपाल समूहले पछिल्लो पटक २० माघमा आधिकारिकता माग गर्दै आयोगमा पत्र बुझाएका थिए । उनीहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिएको दाबी गर्दै आइरहेका छन् ।