काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न दोषी नजिक प्रहरी पुगिसकेको दाबी गरेका छन् ।
गृह मन्त्रालयमा मंगलबार सर्वोच्च अदालत बार एशोसियसन, महिला समितिको नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले भागरथी हत्यामा संलग्न नजिक प्रहरी पुगिसकेको र प्रहरीले छिटै पक्राउ गर्ने बताएका हुन् ।
महिला हिंसाका घटना बढेको र त्यस्ता हिंसामा संलग्नलाई कारवाहीको माग गर्दै बार एशोसियसन महिला समितिको टोली गृहमन्त्रालय पुगेको थियो ।
गृहमन्त्री थापाले घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउनेसमेत प्रतिबद्धता जनाएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।
सो क्रममा गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको भन्दै विगतबाट पाठ सिकेर छिट्टै टुंगोमा पुर्याउने गरी छानविन प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् । उनले अपराधिक किसिमका घटना न्यूनिकरणमा सरकार गम्भिर रहेको समेत बताए ।
थापाले बलात्कारका घटना हुन नदिन र त्यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेकोसमेत बताए ।
भेटमा महिला कानुन व्यवसायीहरुले सो घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।