काठमाडौं । बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा नेकपाका नेता कार्यकर्ताबाट आक्रमण भएपछि कांग्रेस नेताहरु आक्रामक बनेका छन् । कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, युवा नेता नैनसिंह महर, कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत सहभागी कार्यक्रममा मंगलबार नेकपाको केपी ओली समूहले आक्रमण गरेको थियो । आक्रमणमा परेका नेता साउदको पेट र खुट्टामा ढुंगाले लागेको छ भने अन्य दुई जना घाइते छन् । कांग्रेसको कार्यक्रममा नेकपाका बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको नेताहरुले बताएका छन् । नेकपा जिल्ला अध्यक्ष पाल ओली समूहमा आबद्ध छन् ।
कांग्रेस नेता बीरबहादुर बलायरले नेकपाको ओली समूहले नियोजित रुपमा नै आक्रमण गरेको भए उनीहरुले ठूलो मूल्य चुकाउनु पर्ने बताए । ‘घटनाबारे बुझ्दै छौं, नियोजित रुपमा नै आक्रमणमा उत्रिएको हो भने यसको ठूलो मूल्य उनीहरुले चुकाउनु पर्छ, सरकारी साधन स्रोत प्रयोग गरेर नियोजित रुपमा नै भिड्न आएको हो भने कांग्रेसले प्रतिवाद गर्छ,’ नेता बलायरले हाम्राकुरासँग भने ।
प्रधानमन्त्री ओली समूहका नेकपाका कार्यकर्ताहरूको आक्रमणमा ढुंगाले लागेर स्थानीय जयराज जोशी घाइते भएका छन् । उनी सोमबार मात्रै कांग्रेस प्रवेश गरेका थिए । उनीसहित दुई सय जना नेकपाका नेता कार्यकर्ता सोमबार कांग्रेस प्रवेश गरेका थिए ।
कांग्रेस युवा नेता नैनसिंह महरले ठूलो संख्यामा नेकपा नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेपछि कांग्रेस कार्यक्रममा आक्रमण भएको बताए ।
सोमबार कांग्रेस प्रवेश गरेका जोशीलेसमेत मंगलबार आयोजित आमसभामा सम्बोधन गर्ने कार्यक्रम तय थियो । जोशी गाउँपालिकाको कार्यालय सार्नका लागि गठित संघर्ष समितिका संयोजकसमेत हुन् । नेपाली कांग्रेसले घटनाको विज्ञप्तिमार्फत निन्दा गरिसकेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता उन्माद प्रस्तुत नगर्न नेकपाका नेताकार्यकर्तालाई चेतावनी दिएका हुन् ।
घटनामा कांग्रेस नेताहरु चढेर गएका सवारी साधनमासमेत तोडफोड गरिएको छ ।
‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।’ प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।