काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गतका बाँकी खेल मंगलबारदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो ।
लिगमा मंगलबार दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।
पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ । रासस