पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनीहरूले बेहुला र बेहुलीलाई दुई प्रश्न पनि गर्नेछन् । उनीहरूले विवाह गर्न लागेकाको उमेर २० वर्ष नाघेको छ वा छैन भनी पहिलो प्रश्न गर्नेछन् भने कति औँ पटकको विवाह भनी दोस्रो प्रश्न सोध्नेछन् । पहिलो विवाह हो वा दोस्रो वा तेस्रो, त्यो सोधपुछ गरेर मात्र विवाहको काम गर्न सहमत भएको पर्वतका पुरोहितहरूले बताए ।
“बालविवाह र बहुविवाह न्यूनीकरणका लागि पुरोहितहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले बर बधूको जन्म दर्ता र नागरिकताको प्रमाण पत्र हरेर मात्र वैवाहिक कार्यक्रम अघि बढाउन उनहरूलाई आग्रह गरिएको छ”, पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले भने, “पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पुरोहितहरूलाई पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन आग्रह गरिएको छ ।”
कानुनले २० वर्ष उमेर नपुगेको विवाहलाई बदर गरेको छ । बालविवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यसै गरी बहुविवाह गर्ने वा गराउनेलाई एक देखि पाँच वर्षसम्म कैद र रु १० देखि ५० हजारसम्म जरिवानाको व्यवस्था छ ।
बालविवाहपछि भविष्यमा थुप्रै खालका घरेलु तथा लैङ्गिक हिंसाहरू बढ्दै गएका छन् । पुरोहितहरूले विवाह गराउँदै गर्दा २० वर्ष पार गरेको छ कि छैन निक्र्यौल गर्ने र यदि नपुगेको भए उनीहरूलाई विवाह बन्धनमा नवाधिन सल्लाह दिनुपर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । कानुनले वर्जित गरेका कुराहरूलाई समाजका प्रतिष्ठित र बौद्धिक व्यक्तिको रूपमा रहेका पुरोहितहरूले निस्तेज गर्नुपर्ने बताउँदै उनले त्यस्तो विवाह गर्दै गरेको जानकारी पाएमा प्रहरीलाई सूचना दिन समेत सबैमा आग्रह गरे ।
“रीतिअनुसार पुरोहितले विधि पुर्याएमा मात्र विवाह हुने हो, यस क्रममा धेरैजसो बालविवाह पुरोहितले विधि पुर्याउँछन्”, उनले भने, “तिनै पुरोहितहरूलाई एक ठाउँमा भेला गराएर बालविवाहका विविध विषयमा प्रशिक्षण दिएमा न्यूनीकरणमा केही सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”
बालविवाह सम्बन्धी कानुनी व्यवस्थाको बारेमा पुरोहितलाई सचेत गराउने, बालविवाह अन्त्यका लागि आम नागरिकलाई जागरूक गराउने उद्देश्यका साथ प्रशिक्षण दिइएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । बालविवाह हो भन्ने थाहा पाएपछि त्यसलाई रोक्न पहल गर्ने, बालविवाह र बहुविवाह सामाजिक कुरीतिविरुद्ध चेतना अभिवृद्धि गर्न र यस्तो गरेमा परिवार र व्यक्तिलाई हुने नकारात्मक परिणामको जानकारी दिन पनि पुरोहितहरूलाई उनले आग्रह गरे ।
विश्व हिन्दु महासङ्घ पर्वतका सभापति लोकनाथ आचार्यले कतिपय बाध्यात्मक अवस्थामा पुरोहितहरूले काम गर्नुपर्ने भएकाले विवाह रोक्नु ठुलो जोखिम हुने बताए । उनले सहज परिस्थितिमा बाहेक सबै ठाउँमा सम्भव हुन नसक्ने बताए ।