बालिका करणी गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
राम धामी, टेकराज अवस्थी,
प्रकाशित २०७७ फागुन ११ मंगलबार
211
Shares
डडेल्धुरा । दश वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षकलाई हदै सम्मको कडा कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
नागरिक समाजको अगुवाइमा डडेल्धुराका ८ वटा संस्थाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मङ्गलवार ज्ञापन पत्र पठाएका हुन ।
गन्या पधुरा गाउँपालिका–४ जैसेराको भुवनेश्वरी माविमा अध्ययनरत अपाङ्गता श्रोत कक्षामा अध्ययनरत बालिकालाई सोही विद्यालयका शिक्षक देवीलाल भट्टले जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको घटना बिषयान्तर र अनुसन्धान प्रभावित नहोस् भन्दै हदै सम्मको कारबाहीको माग राखिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानिका भागिरथी भट्टको बलात्कार पछि हत्या भएको मसी सुक्न नपाउँदै शिक्षक बाटै छात्रावासमा बालिका माथि भएको जबरजस्त करणीको घटनाले नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषी माथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रत्रानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको नागरिक समाजका संयोजक रमेशप्रसाद जोशीले बताए ।
नागरिक समाज लगायत गैर सरकारी संस्था महासङ्घ, डडेल्धुरा जिल्ला अदालत बार इकाई, शिक्षा अधिकार अनुगमन समूह, नेपाल पत्रकार महासङ्घ, नेपाल बाल सङ्गठन र महिला मानव अधिकार रक्षक सञ्जालले संयुक्त र जिल्ला अपाङ्ग कल्याण समिति डडेल्धुराले पनि विज्ञप्ति जारी गरी प्रधानमन्त्री र सुदूरपश्चिम मुख्य मन्त्रिलाई पठाएका हुन ।