धादिङ र सिन्धुपाल्चोकका २५ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतद्वारा ५३ करोड सहयोग प्रदान
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
173
Shares
काठमाडौँ। नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ। राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले चार वटा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
धादिङ जिल्लामा १२ वटा र सिन्धुपाल्चोक जिल्लामा १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेको हो । २०७२ सालको भूकम्पले क्षति पुर्याएका यी स्वास्थ्य चौकी ५३ करोडको लागतमा पुनर्निर्माण हुन लागेको हो।
यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने दूतावासले जनाएको छ। केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ।
नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोही प्रतिबद्धता अनुरूप १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो । बाँकी परियोजनाहरू बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा रहेको छ । यी स्वास्थ्य संरचनामा ओपिडी, डिस्पेन्सरी, औषधी भण्डारण कक्ष, एन्टीपोस्ट नेटल रुम, स्वास्थ्यकर्मीका लागि शयन कक्ष, भान्सा घर, अपाङ्गमैत्री सरसफाइ संरचना रहनेछन् ।
स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्नका लागि नेपाल सरकारसँग मिलेर काम गरिरहेको भारतले सन् २००३ देखि हालसम्म साना विकास परियोजना योजना अन्तर्गतका ४० वटा भन्दा बढी स्वास्थ्य शिविर/स्वास्थ्य चौकी निर्माण सम्पन्न गरिसकेको छ। सन् १९९४ देखि भारत सरकारले विविध सरकारी, गैरसरकारी/गैर नाफामूलक संस्थालाई ८२३ भन्दा बढी एम्बुलेन्स उपहार स्वरूप प्रदान गरिसकेको छ ।
दीर्घकालीन, अटल, अतुलनीय र बहु आयामिक प्रकृतिको नेपालसँगको विकास साझेदारीलाई भारत सरकार सदैव निरन्तरता दिन प्रतिबद्ध रहेको दूतावासले जारी विज्ञप्तिमा उल्लेख छ।