पोर्ट ओ प्रिन्स। हाइटीमा जेलबाट शुक्रवार २०० भन्दा बढी कैदी भागेका छन्। भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ। मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिवार जानकारी दिए। जेलमा झन्डै ४०० कैदी रहेका थिए।
“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरूको मृत्यु भएको पनि उनले जानकारी दिए। मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए।
झन्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन्। उनीहरूलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए। जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरू भाग्न नसकेको उनको भनाई छ।
मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन्। उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरूले जनाएका छन्। सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरूले पनि स्वीकार गरेका छन्। हाइटीमा जेल तोडफोड भएका र कैदीहरू भागे तथाउनीहरूको मृत्यु भएका घटना बेला बेलामा हुने गरेका छन्।