‘जनताको सहानुभूति लिन प्रधानमन्त्री आफैंले केही दिनमा छेउँछाउँमा बम पड्काउन सक्नुहुन्छ’
प्रकाशित २०७७ फागुन १८ मंगलबार
102
Shares
काठमाडौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाको विषयलाई लिएर चर्चा परिचर्चा शुरु भएको छ । प्रधानमन्त्री ओलीले सोमबार नेकपा गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई तीव्र गतिमा विकास गरेकाले आफूमाथि हमला भइरहेको बताएका हुन् ।
उनले भनेका थिए, ‘शारीरिक हमला भएर ममाथि तलमाथि भए पनि अनौठो नमाने हुन्छ । म रहिन भने पनि केही छैन । हाम्रो आन्दोलन छ । यो आन्दोलनले प्रतिक्रियावादी तत्त्वहरुसँग घुडा टेक्न हुँदैन ।’ उनले नेपालको विकास तीव्र गतिमा अगाडि बढिरहेकाले देश–विदेशका तत्त्वहरु पार्टीलाई ध्वस्त गर्न लागि परिरहेको पनि बताए ।
ओलीले एकाएक आफूमाथि सुरक्षा चुनौती छ भनेसँगै यसलाई फण्डाको रुपमासमेत लिइएको छ । देशको प्रधानमन्त्रीलाई नै सुरक्षा चुनौती छ भने अरुको हालत के होला ?
फेरि प्रधानमन्त्रीलाई कसैले अहिलेसम्म कुनै त्यस्तो चुनौती दिएको पनि सुनिएको छैन । यसबारेमा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता जगन्नाथ खतिवडा भने फरक तरिकाले बुझ्छन् । उनले नेपाली रेडियो नेटवर्कसँगको अन्तर्वार्ताका क्रममा मंगलबार बिहानै भनेका छन्, ‘उहाँलाई कुनै सुरक्षा थ्रेट छैन जनताको सहानुभूति लिन खोज्नु भएको हो ।’
नयाँ नयाँ फण्डा मन पराउने ओलीले आफैले केही दिनमा छेउँछाउँमा बम पड्काउन सक्ने उनको भनाई छ । भन्छन्, ‘जनताको सहानुभूति लिन प्रधानमन्त्री आफैंले केही दिनमा छेउँछाउँमा बम पड्काउन सक्नुहुन्छ’ ।
खतिवडाले प्रधानमन्त्री ओलीले नेपाली जनताको भावनामाथि खेल्न सक्ने आरोपसमेत लगाएका छन् ।
उनले केपी ओलीको अकर्मण्यका कारण मुलुक अधोगतिमा पुगेकाले आफ्नो पार्टी चुकेको बताउँछन् । तर उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूमिका नखेलेकोप्रति असन्तुष्ट छन् । भन्छन्, ‘केपी ओलीका कारण हामी त चुक्यौं । कांग्रेसले त भूमिका खेल्नुपथ्र्यो नि ।’
नेता खतिवडाले निर्वाचन आयोग अकर्मण्य भयो भन्दैमा आफूहरु सुस्ताएर नबस्ने प्रतिक्रियासमेत दिएका छन् । उनले भने, ‘हामी बुधबारै केन्द्रीय कमिटी बैठक बस्दैछौं । निर्वाचन आयोग केपी ओलीको छायाँ बन्नु हुँदैन । यसको परिणाम आयोगले नै भोग्नेछ ।’