‘काम कारबाही हेर्दा सरकारले विप्लवसँगको वार्ताबाट परिणाम निकाल्ला जस्तो लाग्दैन’
प्रकाशित २०७७ फागुन १९ बुधबार
70
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता बेदुराम भुषालले केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको वार्ताबाट परिणाम निस्कनेमा आशंका व्यक्त गरेका छन् ।
उनले वार्ता हुनु सकारात्मक भए पनि परिणाम कस्तो आउँछ हेर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘वार्ता हुनु सकारात्मक कुरा हो । परिणाम कस्तो आउँछ हेर्नुपर्छ ।’
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा नेता भुषालले यो सरकारको काम गराईप्रति विश्वस्त छैनन् । उनले भने, ‘सरकारको कामप्रति भरोसा गर्ने ठाउँ छैन । तसर्थ सरकारले सकारात्मक परिणाम निकाल्ला जस्तो लाग्दैन ।’
केपी ओलीकै सरकारले विप्लव नेकपालाई प्रतिबन्धित दलको घोषणा गरेको थियो ।
नेता भुषालले प्रतिनिधि सभाको बैठक आइतबार सुरु हुँदै गर्दा सरकार संसद चलाउने मनस्थितिमा नदेखिएको आरोप लगाउँछन् । उनी भन्छन्, ‘यो सरकारले संसद अधिवेशन नबोलाएर केबल प्रतिनिधिसभाको बैठक मात्र बोलाएको छ । संसदको अधिवेशन बोलाउने लक्षण देखिँदैन ।’
कुन कुर्सीमा बस्ला प्रचण्ड–नेपाल समूह भन्ने प्रश्नमा भुषालले भने, ‘हामी यो सरकारका कामको प्रतिकारमा उत्रिन्छौं । कुन कुर्सीमा बस्छौं भन्दा पनि हामीले संसदमा के गर्छौं भन्ने कुरा हो ।
नेकपा स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बुधबार बस्दै गर्दा यही बैठकले नै संसदमा कसरी प्रस्तुत हुने बारेमा छलफल हुने नेता भुषालले बताए ।
सर्वोच्च अदालतले नै यो सरकारलाई असंवैधानिक भनिदिएपछि यो सरकारको हामी विरोध गरिरहने उनले बताए । उनले भने, ‘प्रधानमन्त्री नै असंवैधानिक भनेर अदालतले भनिसकेपछि मै नै सही छु भनेर कुनै प्रधानमन्त्री हिँड्छ भने त्यो भन्दा गैरजिम्मेवार के हुन्छ ?’
आफूहरुसँग संसदमा बहुमत भएको भन्दै नेता भुषालले ओलीलाई हटाउन सकिने दाबी गरेका छन् । उनी स्पष्ट पार्दै भन्छन्, ‘यो प्रधानमन्त्री हटाउनेमात्र विषय होइन संविधानको रक्षा गरेर विकासको बाटोमा कसरी जाने भन्ने कुरा पनि हो ।’
सत्तारुढ नेकपाको ओली समूहले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएको थियो । सर्वोच्चले फागुन ११ गते संसद ब्युँताएको थियो ।
प्रचण्ड–नेपाल समूह ओली सरकारलाई हटाएर संविधानको रक्षा गर्ने बताइरहेको छ ।