'चिन्ता नलिनुस् रामचन्द्र जी, प्रधानमन्त्री भए पार्टीकालाई फाइदा होला' : देउवा
प्रकाशित २०७७ फागुन १९ बुधबार
142
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी आए नभाग्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा चितवन आयोजित शोक सभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन् ।
सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताएका हुन् ।
उनले भने, “कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाउँ पनि भनेको छैन । आयो भने भाग्ने वाला पनि छैन ।”
आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, “चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भए भने अरूको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” उनले थपे, “तपाई शेरबहादुर जी हुनै हुँदैन भन्ने चाहानुहुन्नजस्तो लाग्छ । मलाई तपाईँको भनाइबाट त्यही बुझियो ।”
पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उनले अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ भने । उनले रानाभाटको राजनीतिक सङ्घर्षको चर्चा गर्दै एक पटक मन्त्री बनाउने आफ्नो चाहाना पूरा नभएको बताए ।
देउवाअघि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टीले सही ढङ्गबाट प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने बताए । उनले जिम्मेवार रूपमा प्रतिपक्षी भूमिकामा रहँदा नै कांग्रेसको हित हुने दाबी गरे । वरिष्ठ नेता पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताए । उनले भने, “विपक्षी दलको सही भूमिका काङ्ग्रेसले निर्वाह गर्नुपर्छ ।”
सानो सङ्ख्यामा संसद्मा भए पनि कांग्रेसको भूमिका ठुलो र जिम्मेवारीपूर्ण रहेको उनको भनाइ थियो । कांग्रेसले सजग र इमानदार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्न सके अर्को पटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसद्मा बलियो पार्टी बन्ने पनि उनले बताए ।
वरिष्ठ नेता पौडेलले विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्ने बताए । उनले भने, “वास्तवमा कसैले आफ्नो हैसियत र औकातभन्दा बढी आकाङ्क्षा राख्नु महत्त्वाकाङ्क्षा हो र यो विकृति हो ।” लोकतन्त्रमाथि देशी विदेशी षडयन्त्र भइरहेको पनि उनले बताए । तर सभापति देउवाले भने पौडेललाई जवाफ दिँदै आफ्नै पार्टीको नेता प्रधानमन्त्री बन्दा खुसी हुनु पर्ने भनेका छन् ।
कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि भने २१ गते संसदीय दलको बैठक बोलाइसकेको छ । सो बैठकबाटै २३ गते बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने निर्णय लिने कांग्रेसको तयारी छ ।
कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पुर्याएको योगदान सह्रानीय रहेको बताए ।
कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, गण्डकी प्रदेश सभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, वाग्मती प्रदेश सभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, कांग्रेस नवलपरासीका सभापति विष्णु सापकोटा र कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले स्व रानाभाटको राजनीतिक भूमिकाको बारेमा चर्चा गरेका थिए ।
रानाभाटको यही फागुन १० गते ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उनी प्रतिनिधिसभाका पूर्वसांसद थिए ।