arrow

एक सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
finance-ministry-mof.jpg

काठमाडौँ। अर्थ मन्त्रालयले एक सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रूपमा निकासा गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडा स्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएका हुन्।

स्थानीय तहका सबै वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्थाहरू निर्माणाधीन अवस्थामा छन्। स्वास्थ्य संस्थाहरूको काम सम्पन्नताको आधारमा वित्तीय हस्तान्तरणको रूपमा रकम पठाउने गरिन्छ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको जानकारी दिए।

अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड  रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो। र, सोही अनुसार गत मङ्सिर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो।



लोकप्रिय समाचार
नयाँ