एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु
प्रकाशित २०७७ फागुन २२ शनिबार
485
Shares
काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत सञ्चालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका छन्। सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरेका थिए।
प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूर दराजका सेवाबाट वञ्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो। यस पहल अन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रहरूलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी हस्तान्तरण गर्दै छ। धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगहरू प्रदान हुँदै छ। अस्पतालले कार्यक्रमलाई सफलता पूर्वक सञ्चालन गर्न आवधिक ट्रेनिङहरू र अनुगमन लगायतका कामहरू पनि गर्नेछ।
पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलान्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरू मार्फत कार्यक्रम सञ्चालन हुनेछ । यी केन्द्रहरूले कुल १५ हजार भन्दा बढी घरधुरीका जन समुदायहरूलाई सेवा प्रवाह गर्दछ। कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरूले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरूको उपचार सेवा पाउनेछन्। अबको चार वर्षमा यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने एनसेलको योजना रहेको छ।
कार्यक्रमको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, “स्वास्थ्य क्षेत्र हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको छ। स्वास्थ्य सेवाबाट वञ्चित समुदायहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने मात्र नभई तत्काल जीवन रक्षा गर्न सक्ने यो कार्यक्रमका लागि धुलिखेल अस्पतालसँग सहकार्य गर्न पाएकोमा गौरव गर्दछौँ। यो सहकार्य बहु आयामिक छ किनकि यो डिजिटल डिभाइड घटाउने हाम्रो आकाङ्क्षासँग मिल्दो छ। स्वास्थ्य सेवा केन्द्रहरूले गुणस्तरीय सेवामा स्थानीय समुदायको पहुँच सहज बनाउँदै जीवन रक्षा गर्ने साथै उनीहरूको स्रोत र समय बचत गर्न योगदान गर्ने आशा लिएका छौँ।”
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, “प्रविधिको प्रयोगमार्फत दूर दराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठुलो उपलब्धि हो। यस परियोजनामा पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) पनि समावेश गरिएकोले यो यस प्रकारको पहिलो र नयाँ कार्यक्रम हो। आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले खुला हृदयका साथ सहकार्य गरेकामा हामी धेरै खुसी छौँ। चाँडै भन्दा चाँडै हाम्रा स्वास्थ्य केन्द्रहरूमा टेलिमेडिसिन उपकरणहरू जडान गरी सेवा प्रदान गर्न हामी उत्साहित छौँ।”
टेलिमेडिसिन हस्तान्तरण र केन्द्रको उद्घाटनको अवसरमा बोल्दै धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. राम कण्ठ मकाजु श्रेष्ठले भने, “यस नवीन कार्यक्रमले ज्ञानलाई पनि हेर्न सकिने बनाउन सकिन्छ भनेर सिद्ध गरेको छ। स्वास्थ्य सेवामा पहुँच नभएकाहरूसम्म पुग्न अनि हाम्रो २५ वर्षअघि देखिको परिकल्पना अनुसार ग्रामीण र दुर्गम भेगका जनताका घरदैलोमा नै सेवा प्रदान सबल बनाउने यो सहयोग प्रदान गरेकोमा हामी एनसेल प्रति आभारी छौँ।”
यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई सञ्चालन हुनेछ। टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा सञ्चालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरूबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरूसँग सिधै सम्पर्क स्थापित गराई स्थानीय जन समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ।
पिएचपी अन्तर्गत यो कार्यक्रम सञ्चालन भएका क्षेत्रका जन समुदायका स्थानीयहरूले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरूले त्यहाँका स्थानीय मानिसहरूको स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन्। पिएचपीलाई कार्यक्रम सञ्चालन गरिने समुदायहरू भन्दा बाहिर समेत लाने उद्देश्यका साथ जन समुदायका मानिसहरूको स्वास्थ्यमा सुधारका लागि तथ्याङ्कमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो।
एनसेलले साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम सञ्चालनको लागि सम्झौता गरेको थियो। यस कार्यक्रम अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूर दराजका सेवाबाट वञ्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको छ।