कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर, क्षतिपूर्ति र कैद सजायको माग
प्रकाशित २०७७ फागुन २५ मंगलबार
413
Shares
काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल ओलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् ।
वलीले पन्तविरुद्ध विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट गाली बेइज्जती गरेको भन्दै क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्च दिलाइ पाऊँ भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।
काठमाडौंमा गत शनिबार आयोजित एक कार्यक्रममा पन्तले ‘सारी सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद भएको’टिप्पणी गरेका थिए।
पन्तले ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ भनेका थिए ।
वलीले उजुरी दिनेक्रममा ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो,’ भनेकी छन् ।
उजुरीमा मुलुकी अपराध संहिता २०७४ को दफा ३०५ को उपदफा १ र २, ३०६ को उपदफा १ र २ अनुसार कसुर गरेको भन्दै हदैसम्मको कारबाही माग गरिएको छ।
अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । तर वलीले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेको हुँदा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरेकी छन् ।