नेपाल-खनाल समूहको निष्कर्ष: दुई वर्ष सरकार टिकाउने, असहमति लिखित रूपमा राख्ने
ओली समूहले गुण्डागर्दी शैलीमा पार्टी कब्जा गर्न खोजे प्रतिकार गर्ने
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन २७ बिहिबार
192
Shares
काठमाडौं। नेकपा एमालेका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले दुई वर्ष सरकार टिकाउन लाग्ने तर, असहमति भने राख्ने निष्कर्ष निकालेको छ ।
बानेश्वरस्थित अर्याल होटेलमा बसिरहेको बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाउँदै पार्टी भित्रका असहमति प्रष्ट रूपमा राख्ने तर सरकार भने टिकाउने निर्णय गरेको हो ।
सो समूहले प्रधानमन्त्रीको स्वेच्छाचारी गतिविधिका विरुद्धमा भने लिखित रूपमा नै असहमति जनाउने निर्णय गरेको हो ।
उनीहरूले बदलिँदो राजनीतिक अवस्थामा एक समूहले अर्को समूहलाई कुनै पनि गालीगलौजपूर्ण शब्द प्रयोग नगर्नेसमेत भनेका छन् । तर पेलेरै अघि बढे आफूहरूसमेत त्यही अनुसार अघि बढ्ने उनीहरूको समूहको निष्कर्ष छ ।
२३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई खारेज गरेपछि नेपाल समूहले पार्टीभित्रै रहेर आन्तरिक सङ्घर्ष गर्ने जनाउँदै आइरहेको छ ।
हिजो बसेको नेपाल समूहको बैठकले प्रधानमन्त्री ओली समूहले गुण्डागर्दी शैलीमा पार्टी कब्जा गर्न खोजेको भन्दै त्यसको प्रतिकार गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको थियो ।
नेपाल समूहले अदालतको फैसलापछि पार्टी कमिटी २२ जेठ २०७५ को अवस्थामा पुगेको भन्दै त्यहीबाट एमालेलाई अघि बढाउनुपर्ने बताउँदै आइरहेको छ ।