काठमाडौं । श्रीलंकाले बुर्का लगाउन प्रतिबन्ध गर्ने र करिब एक हजार मुस्लिम विद्यालय बन्द गर्ने घोषणा गरेको छ । मुस्लिम महिलाहरूले पुरै शरीर ढाक्न बाहिरी रूपमा लगाउने खास गरी कालो रङको लुगा बुर्का हो ।
सार्वजनिक सुरक्षा मन्त्री सारथ विरासेकराले शुक्रवार बुर्का प्रतिबन्ध गर्नका लागि एक निर्देशनमा हस्ताक्षर गर्दै संसद्मा पेश गरेको बताएका हुन् । त्यस्तै मदरसा भनेर चिनिने करिब १ हजार धार्मिक विद्यालय पनि बन्द गर्ने निर्णय श्रीलंकाले गरेको छ ।
राष्ट्रिय सुरक्षाको विषयलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उनले बताएका छन् । धार्मिक अतिवादको चिन्हका रूपमा रहेका कारण यसलाई प्रतिबन्ध गर्नुपर्ने उनले बताएका छन् ।
सन् २०१९ को मा एक चर्च र होटेलमा आक्रमण भएपछि यसअघि श्रीलंकामा अस्थायी रूपमा बुर्का लगाउन प्रतिबन्ध लगाइएको थियो । सो आक्रमणमा कम्तीमा २६० जनाले ज्यान गुमाएका थिए । इस्लामिक स्टेट ग्रुपसँग संलग्न दुई स्थानीय मुस्लिम समूहहरूलाई घटनामा दोषी देखिएका थिए ।
करिब २ करोड २० लाख जनसंख्या रहेको श्रीलंकामा ९ प्रतिशत मुस्लिम जनसंख्या रहेको छ भने ७५ प्रतिशत सिंहाली बुद्धिस्ट रहेका छन् ।