काठमाडौं। नेकपा एमालेको नेपाल-खनाल समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीलाई बालुवाटारको शक्तिको भाषा बदल्न चेतावनी दिएको छ । बुधवारबाट शुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत सो समूहले आफूहरू कारबाहीका लागि लामबद्ध रहेको भन्दै धम्की नदिन चेतावनी दिएको हो ।
नेपाल-खनाल समूहका नेता योगेश भट्टराईले आफूहरू कारबाहीका निम्ति लामबद्ध रूपमा तयार रहेको तयार रहेको भन्दै बालुवाटारबाट बोलिएको शक्तिको भाषा बदल्न अध्यक्ष ओलीलाई आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीलाई यति मात्रै भन्न चाहन्छु, बालुवाटारमा बोलेको भाषा शक्तिको भाषा छ, त्यो बदल्न अनुरोध गर्दछु, हामी एकपछि अर्को कारबाहीको निम्ति तयार छौं, लामबद्ध छौं ।’ भट्टराईले पत्रकार सम्मेलनमार्फत भने ।
उनले अहङ्कारयुक्त कारबाहीले मुलुक अगाडि नबढ्ने र पार्टी समेतअगाडि नबढ्ने बताए । तर, कारबाही गरिए पनि कुनै पश्चात्ताप नहुने उनले भनेका छन् ।
सो क्रममा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि इतिहासले कठोर कारबाही गर्ने बताए । ‘इतिहासले तपाईँलाई कठोर कारबाही गर्नेछ, त्यो बेला तपाईंसँगै रुने दुई जना पनि हुनेछैनन् ।’
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले मङ्गलवार बालुवाटारबाटै भोलिको भेलामा नजान नेता कार्यकर्ताहरूलाई दिएको निर्देशन प्रति लक्षित गर्दै भट्टराईले प्रधानमन्त्री ओलीलाई समेत भेलामा सहभागी हुन निम्ता दिए ।
‘यो भेला तपाईँकै हो तपाई आफै आउनुस्, आथित्यता ग्रहण गर्नुस्,’ भट्टराईले पत्रकार सम्मेलनबाटै ओलीलाई आग्रह गर्दै भने ।