क्यान्सरको उपचारमा केरुङको २० लाख सकियो, सहयोग जुटाउन साँगीतिक साँझ हुँदै
प्रकाशित २०७७ चैत ६ शुक्रबार
393
Shares
काठमाडौं । क्यान्सरपीडित कलाकार तथा संगीत व्यवसायी देउमान केरुङ सहयोगार्थ बृहत साँगीतिक साँझ हुने भएको छ ।आउँदो नयाँ बर्ष २०७८ बैशाख २५ गते शनिबार को दिन राष्ट्रिय नाचघर जमल काठमाडौंमा नेपालका करिब चार दर्जन बढी ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीमा उक्त साँगितिक साँझ हुने भएको हो ।
जुनतारा सांस्कृतिक सेवा समाजको प्रमुख आयोजनामा हुन लागेको उक्त कार्यक्रम सहयोग सङ्कलनको लागि गर्न लागिएको समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक हाँस्यकलाकार गणेश इशाराले बताए ।
पाँचथरको फालेलुङ गाउँपालिका ३, एकतिन जोरपाटीमा २०२२ साल साउन ३२ गते लक्ष्मण केरुङ र सरानी पन्धाक केरुङको कोखबाट जन्मेका देउमान बिगत डेढ बर्ष देखि फोक्सोको क्यान्सर बाट पीडित छन् ।
करिब २० लाख बढी खर्च गरेर भारतको राजिव गान्धी अस्पतालमा फोक्सोको सफल शल्यक्रिया गरेको ६ महिना नबित्दै पुनः समस्या दोहोरिएको छ ।
हाल उनी नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा नियमित परिक्षण गर्दै आएका छन् । मासिक करिब ७० हजार बढिको नियमित औषधी सेवन गर्नुपर्ने भएकोले उनी अत्यन्तै ठूलो आर्थिक संकटमा परेका छन् ।
आजीवन गीत संगीतको उत्पादन बजार प्रवर्द्धन गर्दै इना क्यासेट सेन्टरको प्रबन्धक समेत रहेका देउमान यतिखेर अत्यन्तै जटिल समस्यामा परेका छन् । यस्तो अवस्थामा पुनः थोरै थोरै भएपनी आर्थिक सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको संयोजकले बताए ।
एक श्रष्टा सदैब राष्ट्रको लागि योगदान दिएपनि अन्तमा अति कष्टकर जीवन गुजार्नुपर्ने बिडम्बना रहेकोले मानवीयताको नाताले पनि सक्दो सहयोगको अपिल गर्दै कलाकारहरु एकजुट हुने उद्देश्यले समेत गर्न लागिएको सहयोगार्थ साँगीतिक साँझको लागि संयोजक इशारासँग प्रत्यक्ष ९८०८८५७६९३ मा सम्पर्क गर्न समेत सकिनेछ ।