काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेरि प्रहार गरेका छन् । ट्वीटरमा आफ्नो मनका कुरा लेख्दै डा. भट्टराईले ओलीलाई ‘भष्मासुर’ सँग तुलना गरेका हुन् ।
उनले लेखेका छन्, ‘मिथकहरुबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्याउने हैन ! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले) वरदान फिर्ता लिनुको सट्टा अर्काले (बिष्णुले) छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलियुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो ! नयॅा रणनीति चाहियो !’
गत पुस ५ ओलीले संसद विघटन गरेपछि भट्टराईले ओलीलाई भष्मासुरसँग तुलना गर्दैै आएका छन् । उनी ओलीसँग निकै रुष्ट हुँदै आएका छन् ।
उनको पार्टीको एक खेमा ओलीलाई समर्थन गर्ने पक्षमा पुगेपछि भट्टराईलाई थप रुष्ट भएका छन् । उनले कुनै पनि हालतमा असंवैधानिक कदम चाल्ने ओलीलाई सत्ताबाट हटाउनु पर्ने बताउँदै आएका छन् ।