केपीले माधवलाई सोधे, 'प्रचण्डलाई निरन्तर किन भेटेको?'
केपीको स्पष्टीकरणको जवाफ माधव नेपालसहितका एमालेका ४ नेताले नदिने
प्रकाशित २०७७ चैत ९ सोमबार
112
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोधिएको पत्रमा प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको कारण के हो भनिएको छ । महासचिव ईश्वर पोखरेलले पार्टी कार्यालय धुम्बाराहीका कर्मचारीले स्वकीय सचिवहरु मार्फत् वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरु – भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई बुझाएको पत्रमा प्रचण्डसँग निरन्तर भेटघाट गर्नुको उदेश्य सोधिएको छ ।
पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले ३ दिनभित्र जवाफ पेश गर्न पत्र पठाइएको बताए । ‘तीन दिनको समय दिएर पत्र स्वकीय सचिवलाई बुझाएका छौं,’ रिजालले भने । ओली समूहको ७ गतेको केन्द्रीय कमिटीको बैठकले नेपाल समूहका ४ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
महासचिव ईश्वर पोखरेलले पत्र लेखी पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध क्रियाकलापको नेतृत्व र अगुवाई के कति कारणले गरेको भनी १० बुँदामा स्पष्टीकरण माग गरेका हुन् । तर नेपाल पक्षीय नेताहरुले सोमबार आन्तरिक छलफलपछि स्पष्टिकरणको जवाफ नदिने भएका हुन् । एमालेका उपाध्यक्ष समेत रहेका भीम रावलले स्पष्टिकरण दिनुको औचित्य नभएको बताएका छन् । ओली संविधान, कानून र पार्टीको विधानसमेतलाई कुल्चेर स्वेच्छाचारिता एवं तानाशाही चरित्र देखाइरहेको कारण स्पष्टिकरण दिनुको औचित्य नभएको बताएका हुन् । नेपाल समूहको ललितपुरमा आन्तरिक छलफल भएको थियो ।
ओलीले सुरुमा ४ जना नेता सहित नेत्री रामकुमारी झाक्रीलाई पनि स्पष्टिकरण सोध्ने निर्णय भए पनि ओलीले झाँक्रीलाई सोध्नु आवश्यक नभएको बताए पछि निर्णय फेरिएको थियो । सो निर्णय भएको दुई दिनपछि स्पष्टिकरणको पत्र थमाइएको हो । आफूलाई कारवाही गर्ने ओलीसँग नैतिक हैसित नभएको दाबी गरिरहेका नेपाल समूहका नेताहरु भने ओलीले कारवाहीको तयारी थालेपछि त्यसको काउन्टरमा के गर्ने भन्ने विषयलाई लिएर छलफलमा जुटेका थिए । चैत ४ र ५ गतेको नेपाल समूहको भेला नरोकिए विधान अनुसार चल्ने ओलीले चेतावनी दिएका थिए । उक्त चेतावनीलाई नेपाल समूहका नेताले चुनौती दिँदै आएका थिए । ओली स्पष्टिकरणमै नरोकिन भन्दै आफूविरुद्ध थप कदम चाल्न सक्ने भएकाले त्यसैको रणनीतिमा नेपाल समूहका नेता जुटेका हुन् । हाल नेपालसँग ३८ जना सांसद छन् भने ३८ जिल्ला अध्यक्ष र ९० जना केन्द्रीय कमिटी सदस्य छन्।
ओली समूहको ७ गते बसेको बैठकले ओलीलाई झनै शक्तिशाली बनाउने निर्णय गरेर नेपाल पक्षलाइ अप्ठेरोमा पारेको छ । संसदीय दलको बैठकले समानुपातिक सांसदको बन्द सूची हेरफेर गर्ने अधिकार ओलीलाई दिएको छ भने राष्ट्रिय सभाको नेता छान्ने, प्रतिनिधि सभाका सांसदले मात्रै दलको नेता चुन्न पाउने, पार्टी पदाधिकारीलाई कारवाही गर्ने लगायतका अधिकार ओलीलाई दिएको छ । यसपछि शक्तिशाली बनेका ओलीले नेपाल पक्षलाई विस्तारै पाखा लगाउने र पार्टी कब्जा गर्ने नीतिमा अघि बढेका छन् ।
पार्टीमा ओलीको कार्यशैली र प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आएका नेपाल समूहका एक नेताका अनुसार ओलीले नेपाल समूहका लागि प्रतिकुल र आफ्ना लागि अनुकुल वातावरण तयार गरिरहेका हुन् । अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जे पनि गर्न सक्ने वातावरण तयार पारेका छन् । उनले के गर्छन् त्यो कसैलाई थाहा छैन । उनले जे चाहन्छन् त्यो हुनेछ तर त्यसले अन्तिममा कम्युनिस्ट आन्दोलन समाप्त गर्ने दिशातर्फ उन्मुख भएको आभाष हुन थालेको ती नेताको दावी छ ।
ओलीले आफूसँग असहमति राख्ने पार्टीका सांसदलाई कारबाही गर्ने हो भने त्यो उनका लागि प्रत्युत्पादक बन्ने निश्चित भएपनि ओलीले यी सबै विषयलाई वास्ता नगरेको नेपाल पक्षका नेताहरुको भनाई छ । ‘एउटा पार्टीको अध्यक्षले आफूसँग असहमति राख्ने सांसदमाथि आक्रमण गर्दै जाने हो भने पार्टीभित्र त्यसले निम्त्याउने संकट समाधान गर्न निकै महंगो मूल्य चुकाउनुपर्ने हुन्छ’, नेपाल समूहका पोलिटव्यूरो सदस्य समेत रहेका नेता जगन्नाथ खतिवडाले बताए ।