पाल्पा रामपुर । पाल्पाको रामपुरमा चौथो मेयर कप २०७७ मङ्गलवारदेखि सुरु भएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुसी र स्वास्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नारा सहित रामपुर नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा रामपुर ५ मटेरी ठूलोटारमा प्रतियोगिता सुरु भएको हो ।
आगामी चैत १४ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ७ विधामा खेल हुनेछन् । जसमा ७ सय खेलाडीको सहभागिता रहनेछ । मेयर कपको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुद र खेलाडीको विकासका लागि रामपुर नगरपालिका प्रतिबद्ध रहेको बताए । खेलाडीको लागि आवश्यक तालिमको सोच नगरपालिकाले लिएको बताउँदै खेललाई व्यवस्थित र खेलाडीलाई उत्साहित गराउन खेल पूर्वाधार विकासमा खेलमैदान डिपिआरमा जोड दिएको बताए ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले खेलले स्वाथ्य र अनुशासित बनाउने बताए । खेललाई मर्यादित बनाउन सबैलाई उनले आग्रह गरे । रामपुर नगरपालिकाका सल्लाहकार देवराज ढकालले खेलकुदले युवाहरूमा उत्साह भर्ने बताए । नेपाली काँग्रेस रामपुर नगर कार्य समितिका सचिव चिरञ्जीवी सिग्देलले जीवनको लागि खेलकुद अपरिहार्य रहेको बताए । नेकपा (एमाले) रामपुर नगर कमिटी इन्चार्ज राजु प्रसाद श्रेष्ठले खेलले युवाहरूलाई एकबद्ध बनाउँदै यसको लागि उपयुक्त पूर्वाधारको खाँचो औँल्याए । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले खेलाडीको विकासमा सबैले चासो दिनुपर्ने बताए ।
नगर खेलकुद विकास समितिका अध्यक्ष शङ्कर बहादुर खाँणको अध्यक्षतामा भएको मेयर कप उद्घाटन कार्यक्रममा नगर खेलकुद विकास समिति खेल संयोजक किरण मल्लले स्वागत गरेका थिए भने समितिका महासचिव राजु गुरुङले सञ्चालन गरेका थिए । खेल अघि रामपुर नगरपालिकाका १० वटै वडाका खेलाडीहरूले मार्च पास गरेका थिए भने रामपुर ९ को पञ्चेबाजा घन्काइएको थियो । आआफ्ना जर्सीमा सजिएका खेलाडी, र जनप्रतिनिधीहरुले वडाको ब्यानर सहित खेल मैदान प्रदर्शन गरेका थिए ।
मेयर कप अन्तर्गत खेलकुद समितिले वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता, वडा स्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता, वडा स्तरीय पुरुष क्रिकेट, व्याटमिण्टन खेल, वडा स्तरीय डोरी तान्ने प्रतियोगिता र माध्यमिक तह स्तरीय वक्तृत्वकलाको आयोजना गरेको छ । पुरुष तथा महिला भलिबलमा नगरका १० वटैले वडाले प्रतिस्पर्धा गर्दै छ भने फुटबलमा ९ वटा वडाले प्रतिस्पर्धा गर्दै छ । राम तुलसी माविको खेल मैदान बेझाँडमा हुने क्रिकेट प्रतियोगितामा भने ६ वडा बीच प्रतिस्पर्धा रहने सचिव सन्जु परियारले बताए।
मेयर कपको उद्घाटन खेल फुटबलमा रामपुर नगरपालिका ३ र वडा नं. ९ बिच भयो । समूह वि को पहिलो चरणको यो खेलमा ३ ले ९ लाई ०-२ गोलले पराजित गर्यो । वडा नं. ३ ले पहिलो र दोस्रो हाफमा १-१ गोल गर्न सफल भए । त्यस्तै समूह वि कै वडा नं. ६ र ७ बिच भएको खेलमा वडा नं ६ ले वडा नं ७ लाई २-१ गोलले पराजित गरेको छ । पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरी वडा नं ६ ले २ गोल गरेको थियो । वडा नं ७ ले दोस्रो हाफको अन्त्यमा १ गोल फर्काउन सफल भयो । समूह वि का विजेता वडा नं. ३ र ६ फाइनलको लागि प्रतिस्पर्धा गर्नेछ ।
मेयर कपमा पुरुष भलिबल तर्फ २ खेल भएको छ । समूह ए मा रहेका साबिक विजेता वडा नं. १ र उपविजेता वडा नं. १० विच भएको खेलमा रामपुर १ ले वडा नं. १० लाई २-० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेट २६-२४ र दोस्रो सेट २७-२५ अङ्क सहित वडा नं. १ ले जित हात पारेको हो । त्यस्तै समूह वि को पहिलो चरणको खेलमा वडा नं. ६ लाई वडा नं. २ ले २-१ सेटले पराजित गरेको छ ।
यता क्रिकेट प्रतियोगितामा समूह ए को वडा नं. ८ र वडा नं. ६ बिचको पहिलो खेलमा वडा नं. ८ ले १ सय २४ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ्ग रोजेको वडा नं. ८ ले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याएको वडा नं. ६, सातौँ ओभरमा २५ रन बनाउँदै अलआउट भयो । व्याटमिन्टन प्रतियोगिता, महिला भलिबल प्रतियोगिता पनि बुधवारबाट सुरु भएको खेल संयोजक किरण मल्लले जानकारी दिए ।