फ्रान्सका सहरी क्षेत्रबाट हुवावे माथिको प्रतिबन्ध लगाउन सुरु
एजेन्सी,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
211
Shares
पेरिस। चिनियाँ टेक जाइन्ट हुवावे माथिको प्रतिबन्ध लगाउने क्रम बढ्दै गएको छ। अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका मुलुकहरूले हुवावे माथि प्रतिबन्ध लगाउने क्रम सुरु भएकोमा पछिल्लो पटक फ्रान्समा पनि हुवावे माथिको प्रतिबन्ध सुरु भएको छ।
एटिस युरोप एनभीको एसएफआर युनिट र बोइग्यूज टेलिकम लगायतका फोन कम्पनीहरूले हुवावे टेक्नोलोजी कम्पनीको वायरलेस उपकरणहरू फ्रान्सेली सहरहरूबाट हटाउन थालेका हुने। सरकारले फ्रान्सलाई चिनियाँ प्रविधिमुक्त मुलुक बनाउने अभियान सञ्चालन गरेसँगै पहिलो चरणमा सहरी क्षेत्रबाट हुवावे हटाउन लागिएको बताइएको छ।
फ्रान्सको संवैधानिक परिषद्ले हुवावेलाई हटाउने निर्णयमा हस्ताक्षर गरेको थियो। जसअनुसार हुवावेलाई हाल घना जनसङ्ख्या भएको क्षेत्रबाट हटाउने क्रम सुरु भएको बताइएको छ। पाँचौँ पुस्ताको वायरलेस टेक्नोलोजीमा स्तर वृद्धि गरिने क्रममा हुवावेलाई हटाइएको हो।
हुवावेले आफ्ना उपकरणमार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाएको थियो। जासुसीको आरोप खेपिरहेको हुवावेका सामानमाथि अमेरिकासहित विश्वका धेरै देशमा प्रतिबन्ध लगाउने क्रम सुरु भएको हो।
हुवावेले अमेरिकाको टेक्सासको प्लानोस्थित जिल्ला अदालतमा सन् २०१९ को अमेरिकी प्रतिरक्षा कानुन विरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ। उक्त कानुनले सरकारी निकायले हुवावेका उपकरण, सेवा वा हुवावेका ग्राहक रहेका अरू निकायका सेवा खरिद गर्न प्रतिबन्ध लगाएको छ।
उक्त मुद्दा दर्तासँगै चिनियाँ कम्पनी हुवावे राजनीतिक, कानुनी समेतका सबै विधि उपयोग गर्न अग्रसर भएको देखाएको छ। उच्च गतिको पाँचौँ पुस्ताको दूरसञ्चार प्रविधि (फाइभ-जी) विकास गरिसकेको हुवावेले आफू विश्व बजारमा महत्त्वपूर्ण प्रतिस्पर्धी हुन चाहेको सङ्केत पनि दिएको छ।
हाल हुवावे विश्वकै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी हुनुका साथै स्मार्टफोन उत्पादनमा सामुसङ र एप्पल कम्पनीलाई चुनौती दिइरहेको छ। चीनले हालै प्रयोगमा ल्याएको एक कानुनमा सबै चिनियाँ कम्पनीहरूले राष्ट्रिय सुरक्षामा सरकारलाई मद्दत गर्नुपर्ने व्यवस्था गरिएको छ। यो कानुनी व्यवस्थाले हुवावेका बारेमा थप चासो बढेको हो।
संयुक्त राज्य अमेरिकाले हुवावेका उपकरणहरू अरू देशका गतिविधि जासुसी गर्न चीनको कम्युनिस्ट सरकारले दुरुपयोग गर्न सक्ने बताएको छ। अमेरिकाले हुवावेको सेवा प्रयोगमा नल्याउन अरू देशलाई पनि आह्वान गरेको छ।