काठमाडौंमा वायु प्रदूषण उच्च, घर बाहिर ननिस्किन आग्रह
खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा नजान अपिल
प्रकाशित २०७७ चैत १४ शनिबार
193
Shares
काठमाडौं। स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।
काठमाडौंमा दुई तीन दिन अघिदेखि नै तुवाँलोको समस्या देखिएको र यस्तोमा वरपरका क्षेत्रमा डढेलो लागेका कारण अचानक वायुमा समस्या भएको विभागले बताएको छ ।
मकवानपुर, चितवन, पर्सालगायतका जिल्ला र अन्य ठाउँमा डढेलो लागेको जानकारी आएको मौसम विभागले जनाएको छ ।
अचानक अत्यधिक वायु प्रदूषण हुँदा आँखा चिलाउने, खोकी लाग्नेलगायतका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । यस्ता समस्याबाट बच्न घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले आज यहाँ अपिल जारी गर्दै वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गरेका छन् ।
उनले अत्यावश्यक नभई सवारी साधन नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायु प्रदूषणका कारणलाई कम गर्न आग्रह गरेका छन् । अपिलमा घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजान भनिएको छ ।
“घरबाहिर खुला स्थानमा नबसौँ, नखेलौँ, मर्निङवाकमामा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ” उनले जारी गरेको अपिलमा भनिएको छ, “घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ ।
बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ ।” यस्तै उनले फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गरेका छन् ।
मन्त्रालयका सह प्रवक्ता डा अधिकारीले धुलो धुवाँ उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न पनि आह्ववान गरेका छन् ।