जनकपुरधाम । मिथिला र मधेशको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा शनिबार जनकपुर आइ पुगेको छ।
शुक्रबार भारत विहारको बिसौलमा विश्राम गरेको परिक्रमामा सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको दर्शन गर्दै शनिबार जनकपुरधामका लागि प्रस्थान गरेका छन् ।
परिक्रमा यात्री श्रद्धालुभक्तजन ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा रंगभूमि मैदानमा विश्राम गर्नेछन् ।आइतबार बिहानै जनकपुरको अन्तगृह परिक्रमा गरेसंगै मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक पदयात्रा सम्पन्न हुनेछ ।
जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र धनुषाको मिथिला बिहारी नगरपालिका कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।
मध्यमा परिक्रमाले भारतका ४ र नेपालका ११ गरी १५ स्थानमा विश्राम लिएको थियो । १५ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १३३ किलोमिटर दूरी तय गरेको छ।
विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेका छ।
परिक्रमामा मिथिला मध्यमा परिक्रमाको अति विशिष्ट महत्व रहेको र मिथिला मध्यमा परिक्रमाको धार्मिक कुटनीतिका साथै पर्यटन, धार्मिक, सामाजिक तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेका हुन् ।
मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । भोली आइतबार बिहान श्रद्धालुहरु अन्तगृह घुमेर परिक्रमालाई समापन गर्नेछन् ।
जनकपुरमा यसपटक सोमबार होली पर्व मनाइदै छ । आइतबार मध्य परिक्रमा समापन गर्ने भएकाले त्यसको भोलीपल्ट सोमबार होली पर्व मनाउन लागिएको हो ।
त्यतै, जनकपुरधाममा मनाइने होली महोत्सवको प्रमुख आकर्षणमध्ये महामुर्ख सम्मेलन एक रहेको छ।
मिथिला नाट्यकला परिषद्ले महामुर्ख सम्मेलनमा महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाएका छन् ।
परिषद् स्रोतका अनुसार नेपाली कला जगतको स्थापित नाम महजोडीलाई नै महामुर्खको उपाधि प्रदान गर्ने तयारी गरिएको हो।
जनकपुरधाममा २०६१ सालबाट महामुर्ख सम्मेलन हुँदै आएका हुन् ।