केपी ओलीलाई घनश्यामको स्पष्टीकरण पत्र : तपाई ‘कङ्गारु अदालत’को अभ्यास गर्दै हुनुहुन्छ (पूर्ण पाठ)
प्रकाशित २०७७ चैत १७ मंगलबार
104
Shares
काठमाडौँ ।नेकपा एमालेका युवा नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरणसहित जवाफी पत्र पठाएका छन् । भुसालले मङ्गलवार प्रधानमन्त्री ओलीलाई स्पष्टीकरणको पत्र पठाउँदै ओली आफैँले पार्टी भित्र कङ्गारु अदालतको अभ्यास गरिरहेको आरोप लगाए ।
‘पार्टी कार्यालयबाट प्रेषित औपचारिक पत्रको भाषा, त्यसको गुणार्थ र अपनाइएको प्रक्रियाले तपाईँ के गर्न खोज्दै हुनुहुन्छ भन्ने स्पष्ट रहेको’भुसालले स्पष्टीकरण पत्रमा भनेका छन् ।
भुसालले ‘नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैका विरुद्ध सुनियोजित रूपले लक्षित कथा कथित न्यायिक प्रक्रियालाई कङ्गारु अदालत भनिन्छ, तपाइले मागेको तथाकथित स्पष्टीकरणसहितको लिखित जवाफले त्यही कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष प्रमाणित छ’ स्पष्टीकरणको पत्रमा लेखेका छन् ।
उनले आफूमाथि लगाइएका सबै आरोपहरू बनावटी रहेको भन्दै पार्टी एकता जोगाउन पुनः अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।
‘ममाथि लगाइएका चार वटामध्ये पहिलो आरोप तत्कालीन पार्टीका कार्यकारी अध्यक्ष ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन शत्रुतापूर्ण आरोप तयार गर्न पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरीत कार्य गरेको’ भन्ने छ, प्रथमतः तपाईँले आरोपित गरेको घटनामा मेरो कुनै संलग्नता छैन ।’ पत्रमा उल्लेख छ ।
स्पष्टीकरण पत्रमा भुसालले ओलीमा गम्भीर विचलन आएको र एमालेलाई विभाजन गर्न उद्धत रहेको आरोप लगाएका छन् ।