थारु कल्याणकारी सभा र सरकार बीच वार्ता फेरि भोलि हुने
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १७ मंगलबार
102
Shares
काठमाडौं। रेशम चौधरीको रिहाइ सहितका विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/ थारुवान संयुक्त सङ्घर्ष समिति र सरकारी वार्ता टोली बिचको पहिलो चरणको वार्ता सकिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच आज पहिलो चरणको वार्ता भएको हो ।
वार्तामा आन्दोलनरत पक्षले आफ्ना कुरा राखेको र पुनः बिहीबार वार्ता हुने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री थापाले जानकारी दिए ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।
यस्तै थरुहटका तर्फबाट रुक्मीणी चाैधरीको संयोजकत्वमा प्रेमलाल चाैधरी, पदम नारायण चाैधरी, चन्द्रबहादुर चाैधरी, प्रभात चाैधरी रहेको वार्ता टोली छन् ।
टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा छन् ।