काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोनाको उपाधि दाबेदारी बलियो भएको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भल्लाडोलिटलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि दावेदारी बलियो बनाएको हो ।
घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । संघर्षपूर्ण जित निकालेको बार्सिलोनाका लागि डेम्बेलेले खेलको ९० औं मिनेटमा गोल गरेका थिए ।
खेलको ७९ औं मिनेटमा ओस्कार प्लानोले रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा पुगेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा १ अंकले मात्र पछि रहेको छ ।
बार्सिलोनाले २९ खेलमा ६५ अंक जोडेको छ । एट्लेटिकोको २९ खेलमा ६६ अंक रहेको छ ।
तेस्रो स्थानको रियाल मड्रिडको २९ खेलबाट ६३ अंक रहेको छ ।