काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई फेरि प्रधानमन्त्रीको लोभ देखाएका छन् । ओलीले जसपाका कार्यकर्ताहरुमाथि लगाएका मुद्दासमेत फिर्ता लिने प्रक्रिया अघि बढाएका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न ठाकुर एक्लै आइतबार साँझ प्रधानमन्त्री निवास बालुबाटार पुगेका थिए । त्यसदिन बिहान ठाकुरसँग नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको भेट भएको थियो । ठाकुरलाई भेट्न पौडेल ठाकुर निवास सानोठिमी पुगेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा ओलीले ठाकुरलाई आफू पछि सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको जसपाका नेताहरु बताउँछन् । जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले प्रधानमन्त्रीले जसपाका अध्यक्ष ठाकुरलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको दाबी गरे ।
‘प्रधानमन्त्रीज्यूले हाम्रो अध्यक्षज्यूलाई सरकारको नेतृत्व गर्न फेरि प्रस्ताव गर्नु भएको छ’ सुमनले भने ‘साथै हाम्रा माग पूरा गर्न प्रतिबद्धता पनि गर्नु भएको छ ।’ सरकारले मधेश आन्दोलनको क्रममा जसपाका कार्यकर्ताहरुमाथि लगाएका मुद्दा फिर्ता लिन तथा बन्दी रिहाइ तथा मुद्दा फिर्ता सम्बन्धी कार्याविधिसमेत पास गरेको छ ।
जसपा स्रोतका अनुसार गृह मन्त्रालयले जसपालाई फाराम भर्न लगाएको छ । फाराममा कुन मुद्दा कहिले दर्ता गरिएको, कहाँ दर्ता गरिएको, हाल मुद्दाको स्थिति कस्तो छ भनी विस्तृत जानकारी खुलाउनु पर्ने छ । जसपाका अनुसार मधेस आन्दोलनको क्रममा सरकारले २८२ व्यक्तिलाई मुद्दा लगाएको छ ।
८६ थान मुद्दामा २८२ व्यक्तिलाई प्रतिवादी बनाइएको जसपाका नेताहरु बताउँछन् । जसपाका अनुसार मधेस आन्दोलनको क्रममा करिब ५० जना व्यक्ति हाल विभिन्न जेलमा छन् । जसपाका सांसद रेशम चौधरीको रिहाइको मागलाई जसपाले पार्टीको प्रमुख एजेण्डा बनाएको छ ।
सरकारले सजिलैसँग पूरा गर्न सक्ने अर्को एजेण्डा भनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग हो । मन्त्रिपरिषद्को बैठकले यो माग सजिलैसँग पूरा गर्न सक्छ । यसैगरी सरकारले संसदमा संविधान संशोधन प्रस्ताव लैजान सक्छ । सरकारले माग गर्न पूरा गर्न प्रक्रिया अघि बढाएपछि जसपाको एउटा पक्ष प्रधानमन्त्री ओलीसँग निकट देखिएको छ ।
जसपाका एक पदाधिकारीले भने, ‘अहिले ठाकुरज्यूलाई दुवैतिर लड्डु छ । प्रधानमन्त्रीज्यूले माग पनि पूरा गर्ने सरकारको नेतृत्व गर्न प्रस्ताव पनि गर्नु भएको छ ।’ ती पदाधिकारीले भने, ‘ठाकुरज्यूलाई माओवादी केन्द्र र नेपाली कांग्रेसबाट पनि यस्तो किसिमको आसय आउने गरेको छ । तर प्रधानमन्त्रीज्यूले भने प्रष्टसँग म पछि यो कुर्सीमा तपाई बस्नु पर्ने स्थिति आउन सक्छ भन्नु भएको छ ।’
पछिल्लो समय ठाकुर ओलीसँग निकट भएका छन् । यस अवधिमा उनले ओलीसँग पटक पटक संयुक्त र एक्ला एक्लै भेटघाट गर्ने भएको छ । तर जसपाका अर्को पक्ष भने ओलीसँग मिलेर सरकार बनाउने लाइनमा सशक्त विरोधमा उभिएको छ ।
यसको नेतृत्वमा उपेन्द्र यादवले गरेका छन् । यादवलाई जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले साथ दिएका छन् । तर पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरु अहिले ठाकुरसँग निकट देखिएका छन् । पार्टी भित्रको यस विवादमा महन्थ नै बहुमतमा देखिएका छन् ।