arrow

पत्रकार महासंघको निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आव्हान

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २४ मंगलबार
FNJ-Building.jpg

काठमाडौं। नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनको पूर्व सन्ध्यामा महासंघका पुर्व सभापति एवं अध्यक्षहरुले निर्वाचनमा उत्साहपुर्वक सहभागी हुन देशभरका सदस्यहरुलाई आव्हान गरेका छन्। 

अहिले हुन गइरहेको निर्वाचनको ऐतिहासिक महत्व रहेको साथै निर्वाचनलाई  कुनै विघ्न बाधा नपारी सबै पत्रकारहरुले उत्साहपूर्वक सहभागी हुनु सबैको कर्तव्य पनि हो भन्दै  पूर्वसभापति/अध्यक्षहरुले आह्वान गरेका छन्। 
'
'महासंघको सबै तहको निर्वाचनमा स्वस्थ र मर्यादित रुपमा प्रतिस्पर्धामा उत्रनु भएका तमाम पत्रकार साथीहरुलाई हामी शुभकामना दिन चाहन्छौं । महासंघको अविच्छिन्न ऐतिहासिक गरिमाको रक्षा गर्दै प्रेस स्वतन्त्रतालाई व्यवहारमा नै सफल  र सार्थक बनाउनु महासंघको यति वेलाको प्रमुख दायित्व हो ।' उक्त आव्हान पत्रमा भनिएको छ।

आह्वानको पुर्ण पाठ:
नेपाल पत्रकार महासंघका पूर्वसभापति/अध्यक्षहरुको आह्वान

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको निर्वाचन कार्यक्रम भोलि २०७७ चैत २५ गते हुन गैरहेको सुखद पूर्व सन्ध्यामा  हामी देशभरका महासंघका तमाम सदस्य साथीहरुलाई यस निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आह्वान गर्दछौं । 

सम्पूर्ण नेपाली पत्रकारहरुको आस्था र विश्वासको धरोहरको रुपमा रहेको नेपाल पत्रकार महासंघको जीवनमा भोलि हुने निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । महासंघको केन्द्रीय, प्रदेश, जिल्ला एवं प्रतिष्ठान तहसम्मका सबै संरचनामा एकैपटक प्रत्यक्ष निर्वाचन पद्धतिबाट नेतृत्व छनौट हुन गैरहेको छ । यो निर्वाचनलाई कुनै विघ्न बाधा नपारी सबै पत्रकारहरुले उत्साहपूर्वक सहभागी हुनु हामी सबैको कर्तव्य पनि हो । 

महासंघको सबै तहको निर्वाचनमा स्वस्थ र मर्यादित रुपमा प्रतिस्पर्धामा उत्रनु भएका तमाम पत्रकार साथीहरुलाई हामी शुभकामना दिन चाहन्छौं । महासंघको अविच्छिन्न ऐतिहासिक गरिमाको रक्षा गर्दै प्रेस स्वतन्त्रतालाई व्यवहारमा नै सफल  र सार्थक बनाउनु महासंघको यति वेलाको प्रमुख दायित्व हो ।

यस पटकको निर्वाचनको अवसरले महासंघका सदस्यहरुबीच मात्र नभई समाजका विभिन्न क्षेत्रमा समेत नेपाली पत्रकारिताका चुनौति, समस्या र यस क्षेत्रमा गरिनुपर्ने सुधारका यावत मुद्दामा बहस–छलफल भैरहेको देख्न पाउँदा हामीलाई अपार खुसी लागेको छ । वास्तवमा प्रेस स्वतन्त्रताको संरक्षण, यसको व्यवसायिक सुदृढिकरण र आम पत्रकारहरुको पेशागत र भौतिक सुरक्षा तथा पत्रकारिताका अनेक निर्भिक माध्यममार्फत लोकतान्त्रिक प्रणालीको जीवन्तताका लागि सक्रिय योगदान केवल पत्रकारहरुको चासोको मात्र नभई आम नागरिकको सरोकार रहनुपर्ने विषय हुन् ।

नेपाल पत्रकार महासंघलाई सरकारको प्रतिछायाँ तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन र समाजको निरन्तर लोकतान्त्रिकरणका लागि वैचारिक दिशाबोध गर्न सक्ने बनाई राख्न आवश्यक छ । प्रेस स्वतन्त्रता अहिले पनि चौतर्फी चुनौतिको घेरामा छ । यसको रक्षाका लागि महासंघका सबै तहमा जुझारु र निष्ठावान नेतृत्व आवश्यक हुन्छ ।
 
तसर्थ, स्वतन्त्र एवं बहुलवादी प्रेस र पत्रकारहरुको सुरक्षा र अधिकारको विषयमा कतै पनि सम्झौता नगर्ने, नागरिक अधिकार र लोकतन्त्रका पहरेदार हुनसक्ने सक्षम नेतृत्वलाई आफ्नो विवेकको मतदान गर्न पनि हामी तमाम पत्रकार साथीहरुमा हार्दिक अपील गर्दछौं ।  
-----
हरिहर विरही
किशोर नेपाल
डा. सुरेश आचार्य
तारानाथ दाहाल
विष्णु निष्ठुरी
धर्मेन्द्र झा
२०७७।१२।२४



लोकप्रिय समाचार
नयाँ