काठमाडौं । काठमाडौं शहर लगातार तेस्रो दिन विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ । सोमबार बिहानदेखि काठमाडौं पटक पटक प्रदूषित शहरको शीर्ष स्थानमा रहँदै आएको छ। बुधबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २६० पुगेको छ । सोमबार बिहान ९ बजे प्रदूषण बढेर ३३१ एक्यूआई रहेको थियो ।
मौसममा आएको खरावीका कारण पनि अहिले पनि काठमाडौं सर्वाधिक प्रदूषित हुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ।
आइतबार मात्रै नेपालमा ७ सय भन्दा बढी जंगलमा डढेलो लागेको थियो। हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरु बताउँछन् ।
काठमाडौंमामात्र नभएर मुलुकका अन्य शहरहरुमा पनि प्रदूषणको पारो अन्त्यन्त बढेको छ ।
सरकारको खेलबाड
सरकारले भने यतिबेला खेलबाड गरिरहेको छ । डढेलो लागेर प्रदूषण बढ्दा चार दिन सबै शैक्षिक संस्थाहरु बन्द गराएको सरकारले अहिले लगातार तीन दिनसम्म विश्वकै सबैभन्दा प्रदूषित शहरमा गनिँदा र देशभर प्रदूषण बढ्दा वास्ता गरेको छैन ।
सरकारले नियुक्त गरेका योजनाकारहरुले सरकारलाई कुनै सुझाव दिएका छैनन् । सरकारले वैकल्पिक उपाय अवलम्बन गर्न सकेको छैन ।
बालबालिका, दीर्घरोगी र वृद्धवृद्धाको स्वास्थ्यमाथि खेलबाड भएको छ । कोरोना भाइरसको महामारी बढिरहेका बेलामा त्यतासमेत गम्भीर चासो राख्न नसकेको सरकारले अहिलेको प्रदूषणमा पनि वास्ता गरेको छैन ।
जनस्वास्थ्य विज्ञहरुको सुझाव
काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।
वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे। उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे।
वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन्। नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ।
उनले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए। उनले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे।
बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ। वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे।
गर्मी बढेसँगै डढेलोका कारण सोमवार बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ। यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो।