काठमाडौं । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्वर ८ मा रहेको बाल ज्योति प्राविमा मा कक्षा ३ मा अध्ययनरत नौ वर्षीया बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या गरी शव कर्णाली नदीमा फ्यालिएको पाशविक घटनाको नेपाल विद्यार्थी संघले घोर निन्दा र भत्सर्ना गरेको छ ।
यस्तो क्रुर अपराध र निच घटनामा संलग्न सम्पूर्ण दोषीहरुलाई तत्काल पक्राउ गरी हदै सम्मको कार्वाही गर्न संघले माग गरेको छ । नेकपा एमालेको केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता विगत ३ वर्षमा लगातार यस्ता घटनाहरु दोहोरिनुले जनताको जीउधन रक्षा गर्ने सवालमा ओली सरकारको उदासिनता उदाङ्गो भएको संघका अध्यक्ष राजिब ढुंगानाले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।
निर्मला पन्त, सम्झना विक र भागिरथी भट्टको बलात्कार गरी हत्या गरिंदा हत्यारा पक्रनुको सट्टा बलात्कारी र हत्याराको संरक्षण गर्न सरकार नै लागि परेकोले हाम्रो समाजमा यस्ता जंगली र पाशविक घटनाले निरन्तरता पाएको भन्दै नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले बलात्कारी र हत्यारालाई संरक्षण गरी सत्ताको आयू लम्ब्याउने खेलमा नलागी जनताको जीउधन रक्षा गर्ने सवालमा गम्भीर भएर लाग्न ओली सरकारलाई खवरदारी गरेका छन् ।
नेविसंघले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी हदै सम्मको कार्वाही गर्न ,आगामी दिनमा यस्ता जंगली र क्रुर अपराधका घटना नहुने विश्वास जनतालाई प्रत्याभुति गराउन ओली सरकारलाई सचेत गराएको छ ।
यदि ओली ओली सरकार बलात्कारी र हत्यारालाई संरक्षण गर्ने दिशामा अघि बढे सडक आन्दोलन गरी ठेगान लगाउन वाध्य हुने र यसवाट उत्पन्न हुने हरेक परिस्थितिको जिम्मेवारी ओली सरकार हुने गम्भीर चेतावनी पनि दिइएको छ ।