arrow

माओवादीले सांसदबाट हटाएका चार मन्त्रीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
four-minister-oath-Saphat.jpg

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रवार नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूको सांसद र मन्त्री पद गएपछि उनीहरूको पुनः नियुक्ति गराएका हुन् ।

नवनियुक्त मन्त्रीहरू ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा शपथ लिएका हुन्  ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र गत फागुन २३ गते अलग अलग भएपछि माओवादी छाडेर एमालेमै रहेका चार सांसदलाई माओवादी केन्द्रले सांसद पद खारेज गर्न सिफारिस गरे लगत्तै बिहीबार उनीहरूको सांसद मात्रै होइन मन्त्री पद गएको थियो ।

उनीहरू यसअघि तिनै मन्त्रालय जिम्मेवारीमा थिए । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।

उनीहरू चार जना नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकामा पार्टी एकता र त्यसपछि कायम नेकपा (एमाले) को केन्द्रीय सदस्यमा आबद्ध भएकाले माओवादी केन्द्रको सूचनाका आधारमा बिहीबार प्रतिनिधिसभा सदस्य रिक्त भएको घोषणा गरिएको थियो ।

सांसद नरहेपछि मन्त्रीमा कायम रहन नमिल्ने भएकाले उनीहरूलाई पुनः नियुक्त गरिएको हो । सांसद नभए पनि छ महिनासम्म मन्त्रीमा नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ ।



लोकप्रिय समाचार
नयाँ