नयाँ सरकार गठनको छलफल टार्दै कांग्रेस, महाधिवेशनको गति पनि सुस्त
क्रियाशील सदस्यको विवरण पठाउने म्याद फेरी थपिने
हाम्राकुरा संवाददाता
प्रकाशित २०७७ चैत ३० सोमबार
403
Shares
काठमाडौं। सत्ता गठबन्धनको प्रयासलाई औपचारिकतामा प्रवेश गराएको नेपाली कांग्रेसको ध्यान नयाँ सत्ता निर्माण र पार्टीको महाधिवेशन दुवै तर्फ सुस्त देखिएको छ ।
गत शुक्रवार कांग्रेसले नयाँ सरकार गठनको विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग औपचारिक रुपमा छलफल गरेको थियो । तर कांग्रेसले नचाहँदा नचाहँदै गरेको सो छलफलपछि फेरी उसको ध्यान सरकार गठन र पार्टीको महाधिवेशन दुवैतर्फ प्रभावकारी देखिएको छैन ।
नयाँ सरकार गठनको विषयमा कांग्रेसले केन्द्रीय समिति बैठकबाटै बाध्यात्मक रुपमा औपचारिक निर्णय गरे पनि सो विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मतैक्यता छैन । देउवाले पार्टीले सरकारको नेतृत्व गर्न तयार रहेको भन्दै केही सार्वजनिक कार्यक्रममा बोले पनि तत्काल सरकारको विकल्पमा जान उनी तयार नभएको उनी निकटका नेताहरुको अभिव्यक्तिले समेत प्रष्ट पार्छ ।
केही दिनअघि देउवा र पौडेलबीच एक सार्वजनिक कार्यक्रममा नै सो विषयमा भनाभन नै परेको थियो । त्यसयता देउवाले नयाँ सरकार गठनका विषयमा कुनै धारणा दिएका छैनन् भने कुनै छलफल र संवादका कार्यक्रम पनि भएको पाइँदैन ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसले निर्णय गरे पनि सरकार गठनका लागि संख्या नपुग्दासम्म कांग्रेस अघि बढ्ने अवस्था नभएको बताए । ‘पार्टीले त निर्णय गरेको छ, तर संख्याको सुनिश्चितता छैन, संख्या नभई हतारमा सरकार कसरी बन्छ, त्यो कच्चा खेल हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।
देउवा पक्षका अर्का नेता मीन विश्वकर्मा पनि कांग्रेस सरकार गठनको निर्णयमा उठेको तर नदौडिएको बताउँछन् । ‘बसेको भनौं भने हिँड्दै छौं, हिँड्दै छौं भनौं भने दौडिन सकेका छैनौं, आफ्नै संख्याले मात्रै पुग्दैन, जसपाको पनि भर देखिएको छैन,’ नेता विश्वकर्माले भने ।
कांग्रेसको ध्यान नयाँ सरकार गठनको प्रक्रियामा जस्तै महाधिवेशनको मुद्दामा पनि सुस्त नै रहेको छ । कांग्रेसले निर्धारण गरेको समयमा क्रियाशील सदस्यको नवीकरण र नयाँ वितरणसमेत नभएपछि महाधिवेशनतर्फसमेत कांग्रेसको सुस्तताले शंका उब्जाउन थालेको छ ।
१४औं महाधिवेशनका सन्दर्भमा पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न विवरण प्रणालीमा राख्न गरिएको ढिलाइ र अन्य पार्टीबाट आएकाहरूको समायोजन प्रक्रिया नटुंगिदा कांग्रेसले यसअघि तय गरेका कार्यतालिका फेरी फेरिने भएको हो ।
कांग्रेसले पछिल्लो पटक २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत क्रियाशील सदस्यहरुको विवरण देशभरिबाट अनलाइन प्रणालीमा इन्ट्री गर्ने समय चैत मसान्तसम्मका लागि तोकेको थियो । सो समय प्रभावित भइसकेको छ ।
त्यसअघि कांग्रेसले १० चैतसम्म सो मिति तय गरेकोमा समय भित्र नसकिएपछि पुनः समय थप गरेर २० चैतसम्मका लागि तोकेको थियो । यो समय पनि गुज्रिएपछि चैत मसान्तसम्मका लागि तोकिएकोमा सो टाइमलाइन पनि भोलि (मंगलवार) सकिंदैछ ।
कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आइतबारसम्म देशभरबाट ५ लाख ४६ हजार सदस्यहरुको विवरण 'इन्ट्री' भएको र समयावधि थप गर्ने की नगर्ने भन्ने विषयमा निर्णय नभइसकेको बताए ।
हालसम्म ५० जिल्लाले मात्रै क्रियाशील सदस्यहरुको नवीकरण भएको र नयाँ वितरण गरिएको विवरण केन्द्रीय कार्यालयले बनाएको अनलाइन प्रणालीमा पठाउन सुरु गरेका छन् । यस्तै केही जिल्लाले धेरैजसो विवरण पठाइसकेका छन् भने केहीले सुरु नै नगरेको नेताहरु बत्ताउँछन् ।
विवरण पठाउन सुरु नै नगर्ने जिल्लामा सोलुखुम्बु, सप्तरी, सिराहा, बारा, रौतहट, सिन्धुपाल्चोक, बर्दिया, डोटी र कैलाली छन् ।
विवरण पठाउन भएको ढिलाइपछि सो विषयमा छलफल गर्न भन्दै आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र पूर्वपदाधिकारीसहित सदस्यता छानबिन समिति र संगठन समायोजन समितिका सदस्यहरूको बैठक बसेको थियो । सो छलफलमा कम्तीमा १५ दिन समय थप गर्ने विषयमा अनौपचारिक छलफल भएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल नै अनुपस्थित भएपछि थप छलफल सोमबारको बैठकमा नै गर्ने निर्णय लिएको हो । कांग्रेसले आगामी ७—१० भदौसम्म आफ्नो १४ औं महाधिवेशनका लागि कार्यतालिका तय गरिसकेको छ ।
आइतबारको बैठकमा केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता पठाउने र अन्य पार्टीबाट आएका सदस्यहरूको पार्टी संगठनमा समायोजन र क्रियाशील सदस्यता समायोजनबारे पनि केही समय बढाउने सहमति नेताहरूबीच भएको बताइन्छ ।
कांग्रेसले अन्य पार्टीबाट आएकाहरूलाई समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएर समायोजनको काम गर्दै आइरहेको छ । यसका लागि निधिले उपसभापति विजय गच्छेदार र नेता सुनिल थापा समूहसँग निरन्तर छलफल र संवाद गर्दै आइरहेका छन् ।