काठमाडौं। नेपालमा जारी ट्राई नेशन्स टि-२० पुरुष क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको छ। पहिलो खेलमा नेपालसँग पराजित नेदरल्याण्ड्सले प्रतियोगितामा आफ्नो पहिलो जित हासिल गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्ड्सका लागि प्रारम्भिक ब्याट्सम्यान म्याक्स ओ'डोडले शतकीय पारी खेलेका थिए। उनले ७३ बलमा ६ छक्का र १५ चौकाको मदतले १ सय ३३ रन बनाएका थिए। म्याक्स नेदरल्याण्ड्सका लागि टि-२० क्रिकेटमा शतक बनाउने पहिलो पुरुष खेलाडी हुन्।
त्यसैगरि विकेटकिपर ब्याट्सम्यान स्कट एडवर्डसले २३ बलमा १ छक्का र तीन चौकाको मदतले ३१ रनको योगदान गरेका थिए। अर्का ब्याट्सम्यान बेन कुपरले २० रन बनाएका थिए।
नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९१ रन बनाएका थिए। मलेसियाका लागि पवनदिप सिंह र अनवर रहमानले १-१ विकेट लिएका थिए।
जवाफमा ब्याटिङ गर्न ओर्लेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७६ रन मात्र बनाउन सकेको थियो। मलेसियाका लागि विरनदिप सिंहले ५३ बलमा ६ छक्का र ६ चौकाको मदतले ८७ रन बनाएका थिए। त्यसैगरि सारविन मुनियान्दीले २८ रन बनाएका थिए भने अमिनुद्दीन राम्लीले २६ रनको योगदान दिएका थिए।
नेदरल्याण्ड्सका लागि आर्यन दत्त, बास दे लिड र सेवास्टियन ब्राटले २-२ विकेट लिएका थिए। खेलका प्लेयर अप दि म्याच शतकीय पारी खेलेका नेदरल्याण्ड्सका म्याक्स ओ'डोड घोषित भए।