म्यानमारको सैन्य 'कू' बारे अनभिज्ञ रहेको चीनको दाबी
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
245
Shares
म्यानमार। म्यानमारमा सैन्य कु लागू भएपछि हाल सङ्कटकालको अवस्था रहेको छ। म्यानमारमा सैन्य 'कू' लाई छिमेकी देश चीनले सघाउ पुर्याएको टिप्पणीहरू भइरहेको बेला चीनले भने यसबारे अनभिज्ञ रहेको बताएको छ।
म्यानमारका लागि चिनियाँ राजदूत चेन हाईले सैन्य कु ले आफूहरूलाई चकित तुल्याएको बताएका छन्। म्यानमारको यान्गुनस्थित चिनियाँ दूतावास अगाडि लोकतन्त्रवादी समर्थकहरूले प्रदर्शन गरेपछि राजदूत चेनले यस्तो अभिव्यक्ति दिएका हुन्।
चीनले सैन्य कु प्रायोजन गरेको भन्दै लोकतन्त्रवादीहरूले चिनियाँ दूतावास अघि प्रदर्शन गरेका थिए । नेतृ आङ सान सुकीको दल नेसनल लिग फर डेमोक्रेसी र सेना दुवै पक्षसँग चीनको मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै वर्तमान सैन्य कु चीनले नचाहेको राजदूत चेनले बताएका छन्।
सैन्य कु को समर्थन वा आलोचना नगरेर तटस्थ रहेको चेनको अभिव्यक्तिले चीनले सुरक्षित खेल खेलेको टिप्पणी भएको छ ।
अन्तर्राष्ट्रिय तथा लोकतन्त्रवादी समूहहरूले म्यानमारमा सैन्य कु लाई चीनले समर्थन गरेको टिप्पणी र विश्लेषण हुँदै आएको छ । सैन्य कु को समयमा चीनले आफ्नो सुरक्षा बल म्यानमारमा पठाइरहेको पनि आशङ्का व्यक्त गरिएको छ।
म्यानमारमा सेनाले गत फेब्रुअरी १ मा सैन्य कु गर्दै नेतृ आङ सान सुकीलाई बन्दी बनाएको छ भने एक वर्ष सङ्कटकाल घोषणा गरेको छ ।