दुई अर्ब राजस्व छल्ने १३ फर्मसहित १६ विरुद्ध मुद्दा
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
185
Shares
काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले भ्याट रु ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर रु एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ छलेका अभियोगमा अनिल गुप्ता एण्ड एशोसिएट्सका सञ्चालक अनिलकुमार गुप्ता तथा अङ्कुश ट्रेड एण्ड सप्लायर्सका व्यवस्थापक प्रवीणकुमार महतो तथा १३ फर्मका सञ्चालकसहित १६ जनाविरुद्ध रु दुई अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ बिगो असुल गरी जरिवाना र कैद सजायको माग गर्दै उच्च अदालत पाटन ललितपुरमा शुक्रबार मुद्दा दायर गरेको हो ।
अभियुक्तले विभिन्न फर्मका नाममा नक्कली बिक्री बिजक जारी गरी बीजकबमोजिमको रकम भुक्तानी लिएर बीजकमार्फत असूल गरेको भ्याट सरकारी कोषमा दाखिल नगरी भ्याट र आयकरसमेत छलेको विभागको अनुसन्धानबाट पुष्टि भएकाले उक्त रकम असूल गरी जरिवाना र कैदसजायको मागदाबीका साथ मुद्दा दायर गरिएको उनले बताए ।
अघिल्लो साता पनि विभागले काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित ॐ सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारी तथा भन्सार प्रतिनिधि रामबाबु जमकटेलसहित चार जनाले रु एक करोड छ लाख ७२ हजार ९०९ राजस्व चुहावट गरेका अभियोगमा बिगो जफत एवं असूल गरी जरिवाना र कैद सजाय मागदावीका साथ सोही अदालतमा मुद्दा दायर गरेको थियो ।
साविकमा अर्थ मन्त्रालयअन्तर्गतको विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएपछि राजस्व चुहावट अनुसन्धान र नियन्त्रणका गतिविधिले गति लिएका छन् ।