काठमाडौं । विराटनगर सिटी एफसीले राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । सोमबार बेलुकी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दोस्रो जित निकाल्दै विराटनगर शीर्ष स्थानमा पुगेको हो ।
विराटनगरले एफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्यो । विराटनगरलाई जित दिलाउन पेड्रो जाभियर मान्जी र सन्तोष तामाङले एक एक गोल गरे ।
चितवनले पहिलो हाफमा विराटनगरलाई गोलरहित बराबरीमा रोके पनि ७३ औं मिनेटमा पेड्रोले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए ।
८९ औं मिनेटमा सन्तोषले गोल गर्दै विराटनगरलाई २–० गोल अन्तरको जित दिलाए ।
खेलमा विराटनगरका रंजित धिमाल प्लेयर अफ दि म्याच र सुरज ज्यु ठकुरी इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए ।
अंक तालिका
जितसँगै विराटनगर लिगको शीर्ष स्थानमा पुगेको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।
४ खेलबाटै ७ अंकको धनगढी एफसी १ गोल अन्तरले दोस्रो स्थानमा झरेको छ ।
बुटवल लुम्बिनी एफसी ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ । ४ खेलबाट ५ अंककै पोखरा थन्डर्स चौथो स्थानमा छन् ।
काठमाडौं रेजर्स ३ खेलबाट ४ अंकसहित पाँचौं स्थानमा रहेको छ । ललितपुर सिटी एफसी ४ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ ।
चितवन ४ खेलमा २ अंक जोडेर पुछारमा छ ।