बैतडी । बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्द भण्डारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । भण्डारीको सोमबार चट्याङ लागेर मृत्यु भएको थियो ।
शव लिएर जिल्ला अस्पताल बैतडी आउँदै गरेको जिप पञ्चेश्वर गाउँपालिका–६ स्थित गणमेश्वर मोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय ५० वर्षीय जितसिह भण्डारी, ३० वर्षीय डम्बर भण्डारी, २७ वर्षीय हिकमत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिए ।
यस्तै दुर्घटनामा परि घाइते भएका चालक तेजबहादुर बोहराको पनि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ५ जना घाइते रहेको र उनीहरूको उद्धार गरी जिल्ला अस्पताल ल्याउन लागिएको प्रहरी निरीक्षक खड्काले बताए ।