बुद्धका यी सात नियम सुनेर अजात शत्रुले त्यागे आक्रमणको विचार
राज्यको उन्नतिका लागि बुद्धका सात नियम
व. आ. कनकद्वीप.
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
343
Shares
बुद्ध भगवान् राजगृहको गृध्रकूट पर्वतमा रही रहनुभएको थियो। त्यसबेला मगध का राजा अजात शत्रु बज्जिहरूको राज्यमा हमला गर्ने विचारमा थिए । यस विषयमा भगवान् बुद्धको राय जान्नको निमित्त राजा अजात शत्रुले आफ्नो मन्त्री वस्तकार ब्राह्मणलाई गृध्रकूटमा पठाए ।
त्यस वस्सकार ब्राह्मणले अजात शत्रुको विचार बुद्धलाई निवेदन गर्यो । त्यस समय आनन्द भिक्षु पनि त्यहाँ उपस्थित थिए ।
अनि भगवान् बुद्धले आनन्द भिक्षुसँग सोधे- 'आनन्द, के तिमीले बज्जिहरू बराबर सभा गरेर जनमतको लागि एकत्रित हुन्छन् भन्ने कुरा सुनेका छौ ?' आनन्द-'ज्यू भन्ते (भदन्त), मैले पनि बज्जिहरू आफ्नो समुदायमा त्यस्तै गर्छन् भन्ने कुरो सुनेको छु ।
बुद्ध- 'के बज्जिहरू सबै एकै ठाउँमा भेला हुन्छन्, सबै एकै साथ उठ्छन् र एक साथ काम गर्छन् ? आनन्द- 'हो भन्ते त्यस्तै गर्छन् ।
बुद्ध- 'बज्जिहरू आफूले नगरेको काम हामीले नै गरेका हौँ भन्दछन्, कि भन्दैनन् ? अथवा फेरि आफैले बनाएको विधान आफै मान्न छोड्छन् ? आनन्द-ज्यू भन्ते, बज्जिहरू विधान अनुसार नै चल्छन् ।।'
बुद्ध- ' के बज्जिहरू वृद्ध राजनीतिज्ञहरूलाई सम्मान गर्छन् र उनीहरूको सल्लाह मान्छन्
?आनन्द- 'ज्यू भन्ते ! वज्जिहरू बूढा राजनीतिज्ञहरू- लाई औधी मान्छन् र सल्लाह अनुसार चल्छन् ।
बुद्ध- ' उनीहरू आफ्नो राज्यका विवाहित अविवाहिता महिलाहरूलाई अत्याचार त गर्दैनन् ?
आनन्द- 'बज्जिहरूको राज्यमा महिलाहरूलाई बलात्कार गरेको कुरा मैले कहिल्यै सुनेको पनि छैन । '
बुद्ध- 'बज्जिहरू आफ्नो नगर र नगर बाहिरको देवस्थल हरू संरक्षण गर्छन् कि गर्दैनन् ?'
आनन्द- 'उनीहरूले देवस्थलहरूलाई रक्षा गरिरहन्छन् ।
बुद्ध- 'आफ्नो राज्यमा आएका अर्हन्तहरू सुखसँग रहेको छ वा छैन अनि नआएका अर्हन्तहरूलाई आउने प्रोत्साहन दिने कुराहरूमा विचार राखेका छन् वा छैनन् ?' आनन्द- 'बज्जिहरुले अर्हन्तहरूको लागि सबै किसिमको प्रबन्ध गरेका छन्, भन्ते !'
त्यस पछि भगवान् बुद्धले वस्सकार ब्राह्मणलाई सम्बोधन गरेर भन्नु हुन्छ- 'हे ब्राह्मण, एकपल्ट वैशालीमा रहँदा मैले राज्यको उन्नतिको लागि यो सात वटा नियमहरू बताएको थिएँ । जबसम्म बज्जिहरुले उक्त नियमहरू पालन गर्दै रहन्छन् तबसम्म उनीहरूको विनाश असम्भव छ ।'
वस्सकार ब्राह्मणले बुद्धका यी उपदेशहरूलाई सहर्ष अनुमोदन गरे ।
उपरोक्त सात नियमहरू बुद्ध घोषले लेखेका अन्त कथामा उल्लिखित छन् जसमध्ये बज्जिहरुको निष्पक्ष विधानहरूको समेत विवरण दिइएको छ । फेरि पनि बज्जिगणराज्य त्यस बेलासम्म सफल रह्यो जुन बेलासम्म भगवान् बुद्धका उपदेशहरूप्रति उनीहरू संलग्न रहन सक्यो । यो तथ्य बौद्ध वाङमयमा उल्लिखित रहेको छ । आनन्दभूमिबाट