‘कहिलेकाहिँ गलत पक्षमा मत जान सक्छ, प्रधानमन्त्रीले राजीनामा नै दिनुपर्छ’
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
167
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु भन्दा पनि राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई विभाजन गरिदिएपछि नैतिकताका आधारमा उक्त दिनदेखि एक महिनाभित्रै ओलीले विश्वासको मत लिनुपर्नेमा नलिएको भन्दै अहिले विश्वासको मत लिन खोज्नु गलत भएको नेता गजुरेलले बताए ।
उनले अविश्वासको प्रस्ताव आउँछ भन्ने निश्चित भएपछि ओलीले विश्वासको मत लिन लागेको पनि दाबी गरे । उनले भने, ‘उहाँले त चैत २३ गतेअघि नै विश्वासको मत लिनुपथ्यो । नैतिकता भए राजीनामा दिनुपथ्र्यो ।’
विश्वासको मत लिन नसके काम मध्यावधि निर्वाचनमा जाने ओलीको चाहनाबारेको नेपाली रेडियो नेटवर्कको प्रश्नमा गजुरेलले भने, ‘जे मन लाग्यो त्यो गर्ने मान्छेले के भन्छ भन्ने कुराले के अर्थ राख्छ ?’
ओलीले विश्वासको मत लिन बैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाइएपछि मात्रै माओवादीले ओलीलाई दिएको विश्वासको मत फिर्ता लिएको छ ।
गजुरेलले ओलीले विश्वासको मत लिइरहँदा विवेकको प्रयोग गर्न प्रतिपक्षी दलहरुलाई आग्रहसमेत गरेका छन् ।
उनले ओलीको स्वेच्छाचारिताको अन्त्य गर्नुपर्नेमा जोड दिँदै भने, ‘कहिलेकाहिँ जसले जे भन्यो त्यही हुन्छ । त्यसरी पनि चल्छ । अस्थायी रुपमा उहाँले सत्ताको दुरुपयोग गरेर चलाइरहनु भएको छ । ज्ञानेन्द्रले पनि चलाउन खोजेकै हुन् ।’
‘कहिलेकाहिँ गलत पक्षमा मत जान सक्छ । तर सही र गलत के हो भन्ने कुरा हो । प्रधानमन्त्रीले राजीनामा नै दिनुपर्छ । नैतिकताको प्रयोग गरौं । लोकतन्त्र बचाऔं ।’, नेता गजुरेलले भने, ‘यत्रो परिवर्तन गरियो । संविधान लेखियो । तर उहाँ पुरानै लयमा हुनुहुन्छ ।’
वैकल्पिक सरकार बनाउन सक्ने आधार छ त तपाईहरुसँग ? भन्ने प्रश्नमा उनले भने, ‘राजीनामा दिनुपर्यो त्यसपछि थाहा हुन्छ नि संसदमा गएपछि ।’
उनले देश कोरोनाको छटपटिमा हुँदा पनि कसैलाई पनि समेटेर लैजाने हैसियतमा ओली नभएको भन्दै दुःख व्यक्त गरे ।