आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो –घनश्याम भुषाल
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
146
Shares
तस्वीर–फाइल ।
काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री घनश्याम भुषाले आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हुने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई गाली गरेर एमालेलाई विभाजित गर्ने काम गरिरहेको भन्दै उनले त्यतातर्फ सचेत गराउँदै पहिले प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भएको र अहिले खनाल–नेपाल पक्षलाई गाली गरेर पार्टी विभाजन गर्न खोजेको आरोप लगाए ।
सामाजिक संजाल फेसबुकमा बुधबार उनले लेखेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।’
उनले अगाडि लेखेका छन्, ‘आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।’
उनले अगाडि लेखेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’
अन्तिम वाक्यले उनले कुनै पनि हालतमा ओलीसँग खनाल–नेपाल पक्ष आत्मसमर्पण गर्न नजाने स्पष्ट पारेका छन् ।
पछिल्लो समय खनाल–नेपाल समूहले नयाँ पार्टी गठनका लागि दस्तावेज लेखिरहेको बताइन्छ ।