काठमाडौं । सरकारले शुक्रबारदेखि माननीयहरुलाई कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज खोप लगाउन थालेको छ । शुक्रबारदेखि प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय संसद सचिवालयका कर्मचारी लगायतलाई कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन थालेको हो ।
संघीय संसद सचिवालयले पहिलो चरणको कोभिशिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाहरुलाई शुक्रबारदेखि खोप लगाउने जनाएको हो । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यहरु लगायतलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ ।
सरकारले आठ हप्ता पुगेकाहरुलाई कोभिशिल्डको दोस्रो खोप लगाउने भने पनि माननीयहरुले त खोप लगाउने नै भए तर कोभिशिल्डको सबैभन्दा बढी आवश्यकता रहेका ६५ वर्षमाथिका उमेरका वृद्धवृद्धाहरुलाई भने सरकारले आठ हप्ता पुगेको जनाइसकेको छैन ।
कोभिशिल्डको दोस्रो खोप यतिबेला ६५ वर्षमाथिका वृद्धवृद्धालाई जरुरी रहेको चिकित्सकहरुले बताएका छन् । वृद्धवृद्धाले खोप लगाएको पनि आठ हप्ता नाघिसकेको छ ।
सरकारले कोभिशिल्ड ल्याउने बारेमा अझै पहल गरेको छैन । भारतबाट दश लाख कोभिशिल्ड अझै आएको छैन । त्यसबाहेक अन्य देशहरुबाट समेत पनि सहयोग ल्याउन सरकारले पहल गरेको छैन ।
चीनबाट पनि थप भेरोसिल ल्याउने बारेमा सरकार मौन छ ।
सरकारले चिनियाँ भेरोसिल जेठ २ देखि दोस्रो मात्रा खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार हप्तामा खोप लगाउनु पर्ने बताउँदै २ गतेदेखि लगाउने जनाएको छ ।
तर १८ देखि ५९ वर्षहरुलाई पहिलो चरणको खोप नलगाएकाहरुलाई कहिलेदेखि लगाइदिने भन्ने पनि खुलाएको छैन । त्यस्तै ५९ देखि ६४ वर्ष उमेर समूहको भने अझै सम्वोधन नै भएको छैन ।