डडेल्धुरा कांग्रेसको पार्टी कार्यालयमा आइसोलेसन कक्ष
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
528
Shares
अमरगढी। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिए । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल सङ्क्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइरहेको उनले बताए ।
आइसोलेसन निर्माणपश्चात् उक्त स्थानमा अक्सिजन व्यवस्थापन गरिने जनाइएको छ । विशेष गरी गाउँघर तथा सदरमुकाम पुगेर बस्न समस्या भएकालाई निर्माण गरिएको आइसोलेसनमा राखिने कांग्रेस डडेल्धुराका पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताए ।
कोरोना सङ्क्रमणको पहिलो लहर फैलिएका बेला सोही सेवा दलले गत वर्ष लकडाउनमा अलपत्र परेका करिब १० हजार जनालाई निःशुल्क खाना खुवाएको थियो । त्यस्तै जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, स्यानिटाइजर, ग्लोब्स जस्ता सामग्री सेवा दलले वितरण गरेको थियो ।