काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले कोरोना संक्रमित पत्रकारलाई आर्थिक सहयोग गर्ने भएको छ । सेजनले प्रेस विज्ञप्ति जारी गर्दै बिमा कम्पनीसँग गरेको कोभिड बिमाको पोलिसी सकिएको भन्दै आफ्नै कोषबाट सहयोग गर्न लागेको जानकारी दिएको हो ।
सेजनले भनेको छ, ‘कोभिडको दोस्रो भेरियन्टबाट प्रभावित हुने क्रम बढेसँगै अहिले नेपाल सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाबीच सञ्चार संस्थाहरु प्रकाशन, प्रशारण र सम्प्रेषणलाई निरन्तरता दिईरहेका छन् । अधिकांश सञ्चार संस्थाहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण मिलाएका छन् तर कतिपय अवस्थामा पत्रकारहरु फिल्डमा नगई नहुने बाध्यता पनि छ । यही कारण कोभिड महामारीको दोस्रो लहरबाट अग्रभागमा रहेर काम गर्ने आर्थिक पत्रकारहरु पनि प्रभावित हुनुभएको छ । यही विषयलाई ध्यान दिएर आर्थिक पत्रकारहरुको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले कोभिडबाट संक्रमित हुने सेजन सदस्यहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।’
सेजनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेजनले बिमा कम्पनीसँग गरेको कोभिड बिमाको पोलिसि सकिएकाले आफ्नै कोषबाट कोभिडबाट संक्रमित सदस्य साथीहरुलाई सहयोग गर्ने हुनाले (चैत मसान्तपछि) संक्रमित हुनु भएका साथीहरुले सेजन सचिवालय वा निम्न मोबाइलहरुमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ । साथै समाचार संकलनमा जानका लागि माक्स, सेनिटाइजर लगायतका सामग्रीसहित अन्य सहयोग आवश्यक परेमा पनि सम्पर्क गर्नु हुन अनुरोध छ ।’